विद्यार्थीहरूद्वारा ‘आँखा खुल्यो’ सडक नाटक प्रदर्शन

श्रीखण्डपुर –  बनेपामा रहेको उत्कृष्ट आदर्श विद्या मन्दिर, बनेपाका विद्यार्थीहरूले बुधबार धुलिखेल ५ श्रीखण्डपुर बजारमा विद्यार्थीहरूद्वारा ‘आँखा खुल्यो’ सडक नाटक प्रदर्शन प्रदर्शन गरिएको थियो । सडक सुरक्षा विषयमा जनचेतना फैलाउने उद्देश्यले आदर्श विद्या मन्दिर, बनेपाका विद्यार्थीहरूले यो यथार्थपरक सडक नाटक प्रस्तुत गरेका थिए। काभ्रेमा सडक दुर्घटनाका घटनाहरू बढ्दै गएको अवस्थामा विद्यार्थीहरूले सडकमै उभिएर जनचेतना फैलाउने अभियान साथ नाटक मार्फत प्रस्तुति राखेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक वसुन्धरा खड्काले विद्यालयस्तरबाटै सडक सुरक्षाका विषयमा चासो राख्नु सराहनीय भएको बताइन्। “सडक सुरक्षा ट्राफिक प्रहरी मात्रै होइन, सम्पूर्ण नागरिकको गम्भीर विषय हो। विद्यालयहरूले सचेतनामूलक कार्यक्रम ल्याउनु प्रशंसनीय कदम हो। भविष्यमा यस्ता अभियानमा प्रहरीले पनि सहयोग गर्नेछ,” उनले भनिन्।

नेपाल पत्रकार महासंघ, काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपानेले नाटक हेरेपछि भने, “यो केवल विद्यार्थीहरूको अभिनय होइन, समाजलाई चेतना दिने प्रयास हो। यस्तो कार्यक्रम हरेक विद्यालयमा हुनु जरुरी छ। संचार क्षेत्रबाट पनि यस्ता जनचेतनामूलक अभियानलाई सघाउन हामी तयार छौं।”

विद्यालयका प्रधानाध्यापक रामप्रसाद तिमल्सिनाले सडक दुर्घटना न्यूनीकरणका लागि बालबालिकादेखि नै सचेतना आवश्यक रहेको बताए। “सडक सुरक्षामा जिम्मेवार नागरिक बनाउने अभियान विद्यालयबाटै सुरु हुनुपर्छ। विद्यार्थीहरूको सक्रिय सहभागिता समाजमा परिवर्तन ल्याउन मद्दत गर्छ।”

नाटकमा विद्यार्थीहरूले ट्राफिक नियम पालना नगर्दा हुने दुर्घटना, मोबाइल प्रयोग गरेर सडक पार गर्दा हुने जोखिम र हेल्मेट नलगाउँदा ज्यान गुमाउने सम्भावना जस्ता यथार्थ देखाएका थिए। बनेपामा रहेको बिएमके ड्रइभिङ सेन्टरको सहयोगमा ट्रफिक लाइटको डेमो प्रदर्शन गरिएको थियो । बालवालिका हरुलाइ ट्रफिक लाइट बारे चेतना दिन नाटक प्रदर्शनमा लाइट डेमो गरिएको बिएमके ड्रइभिङ सेन्टरको प्रमुख रुपेश काफ्लेले जानकारी दिए ।

कार्यक्रममा मानव अधिकारकर्मी, स्थानीय समाजसेवी, अभिभावक, प्रहरी र पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

‘आँखा खुल्यो’ नाटक केवल मनोरञ्जनका लागि नभई सडक सुरक्षाप्रति जनचेतना जगाउने उद्देश्यले तयार पारिएको थियो। यो प्रदर्शन सडक अनुशासन पालनाको महत्व उजागर गर्दै, दुर्घटनाबाट बच्न प्रत्येक नागरिकले खेलेको भूमिकाबारे गम्भीर बनाउने प्रयास थियो। केही क्षणको असावधानीले ज्यानै गुम्न सक्छ, तर सचेतना अपनाए जीवन सुरक्षित रहन्छ भन्ने सन्देश नाटक प्रस्तुति रहेको थियो ।

तपाईको प्रतिक्रिया