स्थानीय तहसँग जोडिदै कृषि विकास कार्यालय


धुलिखेल÷स्थानीय तहसँगको सम्बन्ध र समन्वयलाई प्रभावकारी बनाउन कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले प्रभावकारी सम्बन्ध विस्तारको योजना अघि सारेको छ । काभ्रेपलाञ्चोक जिल्लाका १३ र सिन्धुपाल्चोकका १२ गरी २५ स्थानीय तहका कृषि प्राविधिहरुलाई नवप्रवर्तन तथा नविनतम प्रविधिसँग जोड्दै तल्लो निकायसम्मको सम्बन्धलाई अघि बढाएको हो ।
कृषि विकास कार्यालयले कृषि क्षेत्रमा भित्रिएका नयाँ प्रविधिबारे जानकारी गराउने उदेश्यका साथ काभ्रे र सिन्धुपाल्चोक जिल्लाका सबै स्थानीय तहका कृषि शाखालाई तीन दिनसम्म कृषि क्षेत्रमा प्रयोगमा आएको नविनतम प्रविधि र नेपालको अवस्था बारेमा प्राविधिक ज्ञान उपलब्ध गराएको छ । नवप्रवर्तनसँगै बाली वीमाको अवस्था, महत्व र यसको अवसर र चुनौतीका बारेमा परामर्श एवं छलफल गरेको कृषि विकास कार्यालय काभ्रेले जनाएको छ ।
पालिकाले गरिरहेका असल अभ्यास, कृषि क्षेत्रको चुनौतीका बारेमा छलफल गर्दै पछिल्लो समय स्थानीय स्तरबाट आउन नसकेको तथ्याङ्क संकलन तथा वितरणमा परिणाममुखी बनाउने लक्ष्य कृषि विकास कार्यालयले गरेको छ ।
कृषिमा डिजिटल मोवाइलको प्रयोग लगायत प्रविधिसँग सम्बन्धीत विषयमा महत्वपुर्ण छलफल हुने कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । नविनतम प्रविधिको प्रयोग मार्फत कृषि क्षेत्रमा अधिकतम लाभ लिनका लागि कार्यक्रम महत्वपुर्ण हुने कार्यालय प्रमुख कुल प्रसाद दवाडीले जानकारी दिनुभयो ।
उहाँले तालिमपछि स्थानीय तहमा खटिएका कृषि प्राविधिकले कृषिका तथ्याङ्क संकलन गर्न, साना भिडियो क्लिप बनाउन सहयोग मिल्ने बताउनुभयो । उहाँले यसले वडाबाट आउने नियमित तथ्याङ्कमा बृद्धि हुन सक्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया