नक्कली इन्स्पेक्टर एस थापालाई सक्कली प्रहरीको स्यालूट


फिल्ममा नक्कली प्रहरी अधिकृतसँग सम्बन्धित रहेर धेरै कथा बन्ने गरेका छन् । ती कथा काल्पनिक जस्तै लागेपनि प्रहरीले सोमबार सार्वजनिक गरेको अभियुक्तले आफूलाई सक्कली प्रहरीको दर्जामा राखेर सयौं आफू नक्कली भएपनि सक्कली प्रहरीको स्यालूट खाँदै आएको रहस्य बाहिरिएको छ । चलचित्रको कथा झै लाग्ने यो खेलका खलनायक हुन् नक्कली ईन्स्पेक्टर सुदीप थापा ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय टेकुमा तीन दिनअघि ओखलढुंगाका दलबहादुर खत्रीको उजुरीको आधारमा नक्कली इन्स्पेक्टरलाई सक्कली प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
उजुरीमा भनिएको थियो ‘‘प्रहरीकै इन्स्पेक्टर सुदीप थापाले मलाई अस्ट्रेलिया पठाउने भन्दै १४ लाख रुपैयाँ लिएर ठगी गरे । उनीमाथि आवश्यक कारबाही गरी मेरो रकम फिर्ता गरी पाऊँ ।’’
प्रहरी भित्र त्यो सूचनाले सनसनी मच्चियो अनि खोजी भयो इन्स्पेक्टर एस थापा । दलबहादुरले प्रहरी निरीक्षिक नै संलग्न रहेको उजुरी ल्याएपछि उजुरी शाखाका प्रहरी कर्मचारी नै चकित परे । अचम्म माने त्यस लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईको कार्यकक्षमा छिरेर पिडित सहितले आफ्नो कुरा राखे । एसएसपी भट्टराई उजुरी शाखाका प्रहरी कर्मचारीको रिर्पोटिङ सुन्दै थिए । पीडित खत्रीले भट्टराईलाई भनिहाले,‘यो मलाई ठग्ने इन्स्पेक्टर नै हो सर । इन्स्पेक्टर हुँ भनेको मात्रै होइन । प्रहरीकै ड्रेसमा मैले भेटेको छु । प्रहरी कार्यालयमै पनि भेटेको छु ।’’ पटक पटक प्रहरीले स्यालूट गरेका छन् ।
त्यतिमात्रै होइन, खत्रीले आफूसँग सुदीपको फोटोसमेत रहेको बताएका थिए । पीडित खत्रीको गुनासो सुनेपछि एसएसपी भट्टराईले सुदीपबारे अनुसन्धान गर्न कार्यालयको जघन्य अपराध अनुसन्धान गर्ने ‘पिलर’लाई निर्देशन दियो त्यसपछि खुल्यो नक्कली इन्स्पेक्टरको सक्कली स्यालुटको रहस्य ।
सामान्यतः कार्यालयले कुन पिलरले कस्तो अपराधको अनुसन्धान गर्ने भन्ने आफ्नो छुट्टै निर्देशिका बनाएको छ । सोहीअनुसार विभिन्न प्रकृतिका अनुसन्धान छुट्टाछुट्टै पिलरले गर्छ । सामान्य ठगीको अनुसन्धान गर्न ठगी ‘पिलर’ नै स्थापना गरिएको छ । तर, सुदीपबारे अनुसन्धान गर्न जघन्य अपराधबारे अनुसन्धान गर्ने पिलरको टोली खटियो । जघन्य अपराधबारे अनुसन्धान गर्ने पिलर प्रमुखमा डीएसपी अनिल घिमिरे छन् । पीडित खत्रीले घिमिरेकै टोलीलाई प्रहरी निरीक्षक सुदीप थापाको फोटोसमेत उपलब्ध गराए । घिमिरेको टोलीलाई पीडित खत्रीले उपलब्ध गराएको फोटो हेरेपछि इन्स्पेक्टर भनेर परिचय दिने सुदीप नक्कली इन्स्पेक्टर भएको खुुट्ट्याउन समय लागेन । पीडित खत्रीलाई घिमिरेको टोलीले जवाफ दिए, ‘‘यो नक्कली इन्स्पेक्टर हो । तर, हामी यसलाई जसरी पनि कानुनी दायरमा ल्याउँछौँ ।’’

आफूलाई इन्स्पेक्टर बताउने थापाले दज्र्यानी चिह्न नै उल्टो लगाएका थिए । सोही दज्र्यानी चिह्नले उनी नक्कली इन्स्पेक्टर भएको पुष्टि डीएसपी घिमिरेको टोलीले गरेको थियो । पीडितले उजुरी दिएको एक हप्ताभित्र नै प्रहरीले सुदीप थापालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ परेका थापालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । थापाले खत्रीलाई जसरी नै थप दुईजना वीरेन्द्र गिरी र सुवार गिरीलाई क्यानडा पठाउने भन्दै ठगी गरेको खुलेको छ । तीनजनाबाट थापाले ७१ लाख रुपैयाँ ठगी गरेको खुलेको कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए । कार्यालयको प्रहरी टोलीले काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–७ का ३८ वर्षीय सुदीप थापालाई आइतबार घरबाट नै पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले इन्स्पेक्टरको नक्कली कार्डसमेत फेला पारेको छ । थापासहित उनको नक्कली कार्ड बनाउने सप्तरीका ४४ वर्षीय किशोरकुमार चौधरी समेत थप दुईजनालाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरूले कोटेश्वरमा मार्सल प्रिन्टिङ प्रेस चलाएका थिए । प्रहरीको अनुसन्धानका क्रममा नक्कली इन्स्पेक्टर थापा आफू सक्कली इन्स्पेक्टर बनेर विभिन्न प्रहरी कार्यालयमा समेत पुगेको खुलेको छ । उनी कोटेश्वर प्रहरी प्रभाग र नयाँ बानेश्वर प्रहरी वृत्तमा भित्र छिर्ने गरेको खुलेको हो । प्रहरी कार्यालयभित्र छिरेर प्रहरी जवानहरूसँगै बसेर फोटो खिचेर फर्किने गरेको खुलेको छ सोही फोटो समेत देखाएर उनले पीडितलाई प्रभावमा पार्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

तपाईको प्रतिक्रिया