धुलिखेलमा शंखनाद प्रतियोगिता

विश्व हिन्दु महासंघ धुलिखेल नगर समितिद्वारा शनिबार शंखनाद प्रतियोगिता सम्पन्न भएको छ । १५ जना सहभागिमध्ये नैनिसारन्य गुरुकुलका नवीन घिमिरे प्रथम हुनुभयो । धुलिखेल बडालगाउँका रामहरि बडाल दोस्रो र राजेशप्रसाद बडाल तेस्रो हुँदा समिर पराजुलीले सान्त्वना पुरस्कार पाउनुभयो ।
पुरस्कृतहरुलाई विश्व हिन्दु महासंघ, सनातन हिन्दु राष्ट्र अभियान नेपालका संयोजक एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष उद्वव नेपाललगायतले प्रमाणपत्र र नगदसहित पुरस्कार वितरण गर्नुभयो । कार्यक्रममा प्रतिनिधिसभाका सांसदसमेत रहेका नेता भण्डारीले केही सिमित नेताहरुका स्वार्थका कारण देश बिग्रिएको बताउनुभयो । उहाँले पार्टीभन्दा देश कहिल्यै पनि सानो नहुने भएकाले पहिले देश बचाउन अनि मात्र पार्टी बचाउनु पर्नेमा अबको पुस्ता र नयाँ नेताहरुले ध्यान दिनुपर्नेेमा जोड दिनुभयो ।
भण्डारीले विश्वमा सनातन धर्म नमान्ने देशहरु आर्थिकरुपमा पछि परेको दाबी गर्दै नेपाल पनि त्यही बाटोमा जाने त होइन भन्दै चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा उपाध्यक्ष उद्वव नेपालले २०३८ सालमा स्थापना भएको विश्व हिन्दु महासंघले अहिले ७७ वटै देशमा आफ्ना कार्यक्रमहरु संचालन गरिरहेको र काभ्रेका १३ मध्ये ९ पालिकामा शाखाहरु रहेको जानकारी दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले दुई ठूला दलहरु मिलेर बनेको अहिलेको सरकारले संविधान संशोधन गर्ने भनिएकोप्रति लक्षित गर्दै संशोधनको मूख्य एजेन्डा हिन्दु राष्ट्र घोषणा हुनुपर्ने बताउनुभयो ।
धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, विश्व हिन्दु महासंघका प्रशिक्षण विभाग प्रमुख भरतराज पौडेल, गायक रामहरि न्यौपानेगायतले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए । गोपी बडाल सभापति रहेको कार्यक्रम संचारकर्मी सुनिता सापकोटाले संचालन गर्नुभएको थियो ।
महासंघका केशव वडालले यस्ता कार्यक्रमले हिन्दु धर्मको महत्व बढाउन उपयोगी हुने उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया