६५ बर्षदेखि अवनरत रुपमा स्वास्थ्य सेवा प्रदान गरिरहेको शीर मेमोरियल अस्पताल बनेपा अझ सुविधा सम्पन्न बन्ने क्रममा अघि बढेको छ ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरको पहलमा शुक्रबार अस्पताललाई अत्यावश्यक रहेको दुई थान भेन्टिलेटर हस्तान्तरण भएसँगै अस्पतालले बिरामीको ज्यान जोगाउन सहयोग मिल्ने प्रतिबद्धता जनाएको छ । पुरानो अस्पताल भएर पनि भेन्टिलेटरजस्ता अत्यावश्यक सेवा प्रर्याप्त नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या परिरहेको गुनासोपछि मन्त्री किरणको पहलमा अस्पताललाई ७० लाखभन्दा धेरै मूल्यको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
पूर्वी पहाडी जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गरेर अनुकरणीय बनेको अस्पताललाई आवश्यक सामाग्री हस्तान्तरण गर्न पाउँदा निक्कै खुसी लागेको र आगामी दिनमा पनि शीर मेमोरियल अस्पताललाई सहयोग गर्ने उहाँले बताउनुभयो । करिब तीन महिनाकै पहलमा अस्पताललाई अत्यावश्यक सामाग्री हस्तान्तरण गर्न पाउनु खुसीको कुरा भएको उहाँले उल्लेख गर्नुभयो ।
अस्पतालको मेडिकल प्रमुख डा. एन्जेला बस्नेतले भेन्टिलेटरले धेरैको ज्यान जोगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अस्पतालमा आवश्यक रहेको सामाग्री उपलब्ध गराएर धेरै नागरिकको ज्यान जोगिन सक्ने बताउनुभयो । उहाँले बनेपा नगरपालिकाले स्वास्थ्य सेवालाई सदैव प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
शीर मेमोरियल अस्पतालका प्रमुख डा.हेक्टर गायसले बजारमा कपाल काटेको शूल्कमा डाक्टरले आफ्नो अस्पतालबाट सेवा प्रदान गरेको बताउनुभयो । उहाँले मृगौलाको डाइलाइसिस गर्नको लागि आवश्यक उपकरण ल्याउने अवस्थामा रहेको बताउँदै शीर मेमोरियल अस्पतालको लक्ष्य र उदेश्य अनुसार निरन्तर रुपमा काम गरिरहेको बताउनुभयो । सस्तो र सुलभ रुपमा गुणस्तरीय सेवा प्रदान गर्ने आफ्नो लक्ष्य रहेको र सोही अनुसार काम गरिरहेको र दाताको यस्तो सहयोगले आफ्नो उदेश्यमा सहयोगी बन्ने उहाँले स्पष्ट पार्नुभयो ।
बनेपा नगरपालिकाको मेयर शान्तिरत्न शाक्यले आफू स्वास्थ्य सेवाको विस्तारमा सदैव प्रत्यन्नशिल रहेको बताउनुहुँदै शीर मेमोरियलको लागि नगरले सदैव सहयोग गर्ने बताउनुभयो । बागमती प्रदेश सरकारले पनि गरेको सकारात्मक पहलको प्रंशसा गर्दै नगर अस्पतालमा आवश्यक रहेको उपकरण उपलब्ध गराई दिनु हुन अनुरोध गर्नुभयो ।
बनेपा नगरपालिका वडा नं ५ का अध्यक्ष बलराम अधिकारीले शीर मेमोरियल अस्पताल निरन्तर रुपमा जनताको स्वास्थ्य सेवाको सवालमा कृयाशिल रहेर काम गरिरहेको बताउनुभयो ।
स्वास्थ्य सेवामा निरन्तर लागेको हिक्याफ संस्थाका महेश नकर्मीले कोभिडपछि आफ्नो संस्थाको पहलमा नेपालमा २६५ वटा भेन्टिलेटर ल्याएकोमा यो दुई वटा शीर मेमोरियल अस्पतालमा हस्तान्तरण गरेको बताउनुभयो । यसको धेरैभन्दा धेरै काम लिने र धेरैको ज्यान बचाउन सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
तपाईको प्रतिक्रिया