रास्वपामा मेयरको आकाक्षा गरे मात्रै तीन हजार रुपैयाँ शुल्क

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवार बन्न चाहनेका लागि आवेदन आह्वान गरेको छ ।

आउँदो मंसिर १६ गते स्थानीय तहमा रिक्त ४२ पदका लागि उपनिर्वाचन हुँदै छ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

सो निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरुका लागि रास्वपाले आवेदन आह्वान गरेको हो । यसका लागि अनलाइनमार्फत् फारम भर्न र तोकिएको शुल्क तिर्नुपर्ने शर्त रास्वपाले राखेको छ ।

यही कात्तिक २५ गते दिउँसो २ बजेभित्र फारम भरिसक्नुपर्ने जनाएको रास्वपाले नगरपालिकाको मेयर÷उपमेयरका लागि तीन हजार, पालिका अध्यक्ष÷उपाध्यक्ष दुई हजार र वडाध्यक्षका लागि  एक हजार ५०० शुल्क बुझाउनुपर्ने शर्त राखेको छ ।

कुनै पदमा उम्मेदवार बन्छु भन्नका लागि मात्र पनि रास्वपाले शुल्क तोकेको हो । यसरी फारम भरेकामध्येबाट उम्मेदवार घोषणा गरेर आन्तरिक मतदानमार्फ उम्मेदवारको अन्तिम टुंगो लगाउने रास्वपाले निर्णय गरेको छ ।

आन्तरिक निर्वाचनको कार्यतालिका

रास्वपाले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको उम्मेदवार आन्तरिक मतदानबाट टुंगो लगाउने भएको छ ।

निर्वाचन हुने सम्वन्धित स्थानीय तह वा वडाका पार्टी सदस्यले प्राइमरी इलेक्सनमा भाग लिन सक्छन् । सो निर्वाचनका लागि  रास्वपाले आन्तरिक कार्यतालिका बनाएको छ ।

कुन दिन के ?

कात्तिक २२ कात्तिकदेखि २५ गते दिउँसो २ बजेसम्म– उम्मेदवारी दर्ता

२०८१ कात्तिक २५ गते साँझ ८ः०० बजेसम्म– प्रारम्भिक उम्मेदवारहरुको नामावली प्रकाशन,

२०८१ कात्तिक २६ गते, साँझ ५ः०० बजेसम्म– प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोध

२०८१ कात्तिक २७ गते, साँझ ५ः०० बजेसम्म– उम्मेदवारसँग छलफल

२०८१ कात्तिक २७ गते– उम्मेदवारको अन्तिम नामावली प्रकाशन,

२०८१ कात्तिक २८ गते साँझ ७ः०० बजेसम्म– मतदान/निर्णय,

२०८१ कात्तिक २९ गते, दिउँसो १ः०० बजे– नतिजा प्रकाशन,

यी हुन् रास्वपाका ७ कमान्डर

आउँदो मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि रास्वपाले आफ्ना उम्मेदवारलाई जिताउन सात कमान्डर तोकेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिले प्रदेशगत जिम्मेवारी दिँदै

कोशी प्रदेशमा निशा डाँगी, मधेश प्रदेशमा डा.चन्दा कार्की, बागमती प्रदेशमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनी प्रदेशमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदरपश्चिममा विष्णुकुमार श्रेष्ठले चुनावी कमान्डरको जिम्मेवारी पाएका छन् ।

तपाईको प्रतिक्रिया