अभिभावक विहीन बालबालिकालाई सामूहिक टीका लगाई ‘हाम्रो पनि अभिभावक छन्’ भन्ने भाव उत्पन्न गराउने प्रयास : वडा अध्यक्ष खत्री

 

दशैंजस्तो ठूला चाडबाड बालबालिकाका लागि विशेष महत्त्व राख्छन्। उनीहरूको मन फुरुङ्ग हुने यो समय वर्षभरिको प्रतीक्षा पूरा गर्ने क्षण हो। बाल्यकालका यादहरू जीवनभर अटुट रहने हुँदा, कतिपयले त भविष्यका निर्णय र पाइला पनि त्यसकै आधारमा राख्छन्। जसको कोही हुँदैन, उसलाई पनि कहिलेकाहीँ असाधारण साथ मिल्छ, भन्ने उक्ति अभिभावक विहिन यी बालबालिकाको जीवनमा घनिभूत रूपमा लागू हुन्छ।

त्यस्तै एक अभियान हो, मानव कल्याण समाज। सुमी मानवले सञ्चालन गरेको यस समाजमा ४६ बालबालिका छन्, जसका लागि समाजले एक सुरक्षित र स्नेहपूर्ण वातावरण प्रदान गरिरहेको छ। यिनै बालबालिकालाई दशैंको अवसरमा पनौती नगरपालिका वडा नं ५ का अध्यक्ष विनोद खत्रीले अभिभावकको भूमिका निर्वाह गर्दै सामूहिक टीका लगाइदिए। खत्रीले विभिन्न जिल्लाबाट आएका, अभिभावक विहीन ती बालबालिकालाई सामूहिक टीका लगाई उनीहरूको मनमा ‘हाम्रो पनि अभिभावक छन्’ भन्ने भाव उत्पन्न गराउने प्रयास गरेका छन् । उक्त अभियानमा सोही वडाका बालमैत्री सहजकर्ता गीता तिमल्सिना पनि सहभागी थिइन् ।
उनले भनिन् “- दशैंमा जहाँ सबै बालबालिका आ-आफ्ना परिवारसँग रमाउँछन्, त्यहाँ यी बालबालिकाले पनि समाजका अभिभावकबाट स्नेह र माया पाएका छन्।
बालबालिकाको क्षेत्रमा काम गर्न यो पनि एक रचनात्मक कार्य हो” । यस क्षेत्रमा स्थानीय, प्रदेश देखि राष्ट्रिय तहमा बालबालिका प्रतिको सामूहिक जिम्मेवारी र सामाजिक उत्तरदायित्व बोध हुनु जरुरी भएको बताइन्छ ।

तपाईको प्रतिक्रिया