
पूर्वी तराईका जिल्लालाई छोटो दूरीमा राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्गमा यातायातको चाप बढ्दै गएको छ । असोजको दोस्रो सातामा अबिर वर्षासँगै रोशी खोलामा आएको बाढीले भत्काएर क्षतविक्षत पारेको बिपी राजमार्गको नेपालथोक–भकुण्डेबेसी खण्डमा ट्रयाक सडक निर्माणसँगै यातायातको चाप बढेको स्थानीयले बताएका छन् ।
‘नेपालथोक–भकुण्डेबेसी खण्डको सडक बाढीले भत्काएसँगै दुई सातासम्म बिपी राजमार्गमा वरिपरिका बाहेक यातायात सुनसानजस्तै देखिन्थ्यो,’ कमलामाई नगरपालिका–२ चियाबारी निवासी शेरबहादुर मगरले भन्नुभयो, ‘भत्काएको ठाउँमा ट्रयाक सडक बनाएसँगै दसैँ टीकाको भोलिपल्टदेखि यातायातको चहलपहल बढ्दै गएको छ । होटलहरुको व्यापार व्यवसाय पनि बढ्दै गएको छ ।’
उहाँका अनुसार बाढीले सडक भत्काएसँगै राजमार्गमा यातायात ठप्प हुँदा यात्रुहरूलाई खाना र खाजा खुवाउन भ्याइनभ्याई हुने चियाबारीको होटल सुनसान थियो । अहिले ती होटल पनि पहिलेजस्तै लयमा फर्किदैगएका छन् । दसैँ, तिहारजस्ता चाडपर्वको बेलामा उसै पनि सबैजसो बिपी राजमार्गमा यातायात चाप हुने गर्दछ । बर्दिबासदेखि धुलिखेलसम्म कुल १६० किलोमिटर लामो बिपी राजमार्गको सिन्धुलीको नेपालथोकदेखि काभ्रेको भकुण्डेबसी खण्डमा असोज महिनाको १०, ११ र १२ गतेको अविरल वर्षापछिको रोशी खोलामा आएको बढीले १० किलो मिटरभन्दा बढी सडक भत्काएको थियो । भत्काएको ठाउँमा कतै एकतर्फी र कतै दोहोरो यातायात सञ्चालन हुनेगरी अस्थायी ट्रयाक सडक निर्माण गरिएको स्थानीयले बताएका छन् ।
बिपी राजमार्ग सञ्चालनमा आएसँगै राजधानी जाने र राजधानीबाट फर्किने यात्रुको लर्को लागेको छ । गोलन्जोर गाउँपालिका –५ खनियाखर्क स्थित लेकाली होटल तथा भान्सा घरका सञ्चालक विवश थापा बिपी राजमार्गमा गाडीको चाप बढेसँगै आफ्नो व्यवसायमा पनि सुधार आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बिपी राजमार्ग भत्किएर गाडी बन्द हुँदा व्यवसाय शून्य नै थियो । गाँउतिरकै दुई–चार जनाभन्दा ग्राहक कोही आउँदैनथे । गाडीको चार्ज त झन् ठप्प नै थियो । ट्रयाक सडक बनेर गाडी खुलेसँगै व्यवसायमा सुधार हुन थालेको छ ।’
गाडी बन्द हुँदा यात्रुले पाउने सास्तीसँगै सबैभन्दा बढी मार व्यवसायीलाई परेको उहाँले आफ्नो अनुभव सुनाउनुभयो । जिल्ला प्रहरी कार्यालयका सिन्धुलीका अनुसार फूलपातीका दिनदेखि बिपी राजमार्गमा यातायात खुलेको हो । सडक बनेसँगै विजया दशमीको भोलिपल्टदेखि उक्त राजमार्गमा गाडीको चहलपहल बढ्न सुरु भएको हो । असोज २७ गते ९७ वटा, २८ गते ८६ वटा र २९ गते १५० भन्दा बढी यात्रुवाहक सवारी साधन बिपी राजमार्ग हुँदै बाहिरिएका छन् । प्रहरी नायब उपरीक्षक अनिल खड्काले बिपी राजमार्गमा यातायात सञ्चालनका लागि यसअघि अनुमति प्राप्त सवारीसाधन बढ्दै गएको बताउनुभयो ।
राती गाडी चलाउन रोक
अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण क्षति पुगेको बिपी राजमार्गको काभ्रेपलान्चोक क्षेत्रभित्रको सडक खण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले बुधबार सूचना जारी गर्दै बिपी राजमार्ग अन्तर्गत धुलिखेल–भकुण्डेबेंसी–वर्षेखोला सडक खण्ड साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द रहने जनाएको हो ।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बाढीपहिरोका कारण क्षति भएको बिपी राजमार्गको काभ्रेपलान्चोक सडक खण्डमा खोलिएको ट्रयाकको मर्मत तथा सुधार कार्य भइरहेकोले तत्कालका लागि साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको बताउनुभयो । “बाढीपहिरोका कारण काभ्रेपलान्चोकतर्फ बिपी राजमार्गको भकुन्डेदेखि वर्षेखोला खण्डमा करिब आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएकोले हाल ट्रयाक निर्माण गरी यात्रुवाहक सवारी साधनका लागि मात्रै आवागमन खुलाइएको हो,” सिडिई योगेशले भन्नुभयो ।
उहाँले बाढीपहिरोबाट क्षतविक्षत भएको भकुण्डेबेंसी–चौकीडाँडादेखि वर्षेखोलासम्मको सडक खण्डमा ट्रयाक निर्माण भए पनि हाल ट्रयाकको मर्मत तथा सुधार गरी यात्रालाई थप सरल र सुरक्षित बनाउने कार्य भएकोले जुनसुकै समयमा पनि उक्त खण्डमा सुख्खा पहिरो जाने सम्भावना रहेकोले हालको लागि साँझको समयमा सडक बन्द गर्नुपरेको बताउनुभयो ।
“सडक बन्द नगर्दासम्म सवारीको चाप बढ्नुको साथै हामीलाई रातको समयमा सडक मर्मतको काम गर्न समस्या भएकोले छिटोभन्दा छिटो काम सक्नका साथै मर्मत सम्भारको क्रममा हुन सक्ने सम्भावित क्षति नहोस् भनेर सूचना नै जारी गरेर सडकमा यातायात सञ्चालनमा रोक लगाउनुपरेको हो,” सिडिई योगेशले थप्नुभयो । उहाँले आफूहरूले सडकको ट्रयाक खुलेसँगै साँझको समयमा सवारी सञ्चालन नगर्नका लागि आह्वान गरे पनि सवारी साधनहरूले अटेर गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया