आज र मैले भातै र खायो तिहुन त गाभाको
के माया गथ्र्याै तिमीले साइँली म जस्तो जाबाको
तिम्रो नै माया लाग्दछ साइँली ……(झलकमान गन्धर्व)
लोकगीतले बालीनालीका परिकारबाट पाईने स्वाद भन्दा नै मिठो मिठास दिने गरेका छन् । नेपाली लोकगीतमा रैथाने बालीलाई प्रतीकको रुपमा प्रयोग गर्ने गरिएको छ । परम्परागत रुपमा ठाउँ विशेषमा खेती हुने गरेका रैथाने बालीसँग नेपाली गीत सङ्गितको निक्कै ठूलो महत्व छ । रैथाने बाली र नेपाली लोकगीतको एकअर्कामा परिपुरक रहेको बरिष्ठ बागवानी विकास अधिकृत दीपक पौडेल बताउनुहुन्छ ।
स्थानीय वातावरणमा हुर्कने, बढ्ने र रोग किरासँग लड्न सक्ने पौष्टिकताको पक्षबाट महत्वपुर्ण मानिने रैथानेबालीसँग लोकगीतको निक्कै ठूलो महत्व राख्ने पौडेलले दावी गर्नुभयो ।
धेरै बालीहरु लोप भएका र लोप हुन सक्ने बिषयलाई ध्यानमा राखेर नेपाल कृषि अनुशन्धान परिषद्(नार्क) को जिन बैंकमा बीउ सुरक्षित राखेका छन् । त्यस्तै लोकगीतले रैथाने बालीलाई माटोमा मात्रै नभएर गीतको माध्यमबाट समेटेर संरक्षण गरिएको छ । नेपाली बाली संरक्षणमा लोकगीतको विशिष्ट योगदान पु¥याएको छ ।
परम्परागत रुपमा ठाउँ विशेषमा खेती हुने रैथाने बाली नेपाली लोकगीतका अभिन्न अङ्ग भएको पुराना लोक गायक मच्छेश्वर सापकोटा बताउनुहुन्छ ।
धर्तीमुनी पिंडालु त धर्तीमाथी गाभा
तिमीसँग प्रीति लाउनु कानै पक्डें बाबा
मलाई खुत्रुक्कै पार्याे जेठान तिम्रो बैनीले (स्वर मास्टर मित्रसेन थापा)
राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका डा.कालिकाप्रसाद उपाध्यायले लोकगीतमा कृषि प्रविधिको बारेमा गहन अध्ययन गर्नुभएको छ । उहाँको पुस्तकमा मास्टर थापाको गीतमा बिरुवाको विभिन्न भागहरुको उपयोगिताको आधारमा गीत मार्फत वर्णन गरिएको उल्लेख गरिएको छ । पिंडालुको पात हागाँ, जरालाई फरक फरक रुपमा प्रयोग गर्न सक्ने प्राविधिक ज्ञान गीत मार्फत प्रस्तुत गर्ने गरेको पुस्तकमा उल्लेख गर्नुभएको छ । हाम्रा गीतले भावनात्मक कुरा मात्रै नगरेर प्राविधिक कुरालाई पनि ध्यानमा राखेका छन् । धान लगाउने, कोदो फापर छर्ने समयको बारेमा समेत ज्ञान दिएको पुस्तकमा उल्लेख गरिएको छ ।
लोकगीत, गाथा, ऋतु गीत, संस्कार गीत, बाह्रमासा गीत, पर्व गीत, कर्म गीत, श्रम गीत हुन्छन् । श्रम गीतअन्तर्गतको एउटा गीत हो–रोपाइँ गर्दा गाइने असारे गीत । जसले महत्व निक्कै ठूलो छ ।
रिमिमा झिमी पानी है प¥यो असारे मासैमा
हिँडेको हामी धान है रोप्न बेंसीको फाँटैमा ।
लोकगीतमा प्रचुर मात्रामा मानवीय संवेदनशीलता हुन्छ, जुन व्यक्तिको चेतना, कल्पनाशीलता, भावप्रवणता, समूहमा मिश्रण भएर समूहको साझा वाणी बन्ने लोकगायक रामहरि न्यौपानेले बताउनुभयो । किसानी काममा अधिक शारीरिक श्रम गर्नुपर्छ, पसिना बग्छ, हातमा ठेला उठ्छ, आँत खङ्रङ्ग भएर तिर्खा लाग्ने थकान मेटाई शरीरमा चुस्तीफुर्ती भरेर पुनर्ताजगी ल्याउनलाई किसानले रामदली, गोडेलो, दाइँगीत, असारे आदि श्रम गीत रचेको उहाँले उल्लेख गर्नुभयो ।
गीतले कुन समयमा रोप्ने, गोड्ने,मल हाल्ने सबै कुरा सिकाउँछ । कृषि प्रचार अधिकृत कृष्ण धितालले नेपाली गीतले कृषिलाई प्रमुख कर्मको रुपमा सिकाउन मद्धत गरेको उल्लेख गर्नुभयो । नेपालमा मनाईने चाडपर्वहरु समेत कृषिकर्ममै आधारित रहेकाले गीतले कृषिलाई सम्मानित पेसाको रुपमा स्थापित गराउन सहयोग गरेको धितालले स्पष्ट पार्नुभयो । लोकगीतले कृषिबाट नै आत्मनिर्भर बन्न प्रेरणा दिने उहाँले उल्लेख गर्नुभयो ।
तपाईको प्रतिक्रिया