शल्यक्रियाबाट बच्चा जन्माउनेको संख्या बढ्यो

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा शल्यक्रियाबाट बच्चा जन्माउनेको सङ्ख्या चार गुणाले बढेको छ ।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले ६७ औं वार्षिकोत्सवको अवसरमा प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा अस्पतालमा शल्यक्रियाबाट बच्चा जन्माउनेको सङ्ख्या चार गुणले बढेको जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २२ हजार ६१३ सय शिशुक जन्मिएका थिए । जसमध्ये नौ हजार ६५२ जना जन्म शल्यक्रियाबाट भएको उहाँको भनाइ छ । एक वर्षमा अस्पतालले एक लाख ९४ हजार ४९० बहिरङ्ग सेवा दिएको उहाँले बताउनुभयो ।

एक वर्षमा अस्पतालमा ३० हजार ९५२ जना बिरामी भर्ना भएका थिए । जसमध्ये २५ हजार ११६ जनाले प्रसूतिसम्बन्धी र स्त्रीरोगतर्फ पाँच हजार ८३६ जना रहेका थिए । त्यसैगरी, दुई हजार सात सय ८७ नवजात शिशुको उपचार गरिएको थियो । मातृ सघन उपचारतर्फ ४५४ जना भर्ना भएर उपचार गराएका थिए ।

तीन हजार १३३ जनाको विभिन्न गाइनोको शल्यक्रिया गरिएको मध्ये २५७ जनाको दूरबिन प्रविधिबाट शल्यक्रिया गरिएको डा. अधिकारीले जानकारी दिनुभयो ।

अस्पतालले हालसम्म ५८ जना सेवाग्राहीलाई आइ.भी.एफ सेवा दिएको जानकारी दिनुभयो । अस्पतालले आइ.भी.एफ सेवा २०७२ सालको भूकम्पपश्चात् स्थगनमा रहेको र आ.व. २०७८/७९ देखि यस सेवालाई स्तरोन्नति गरी पुनः नियमित रूपमा सञ्चालनमा ल्याएको हो ।

अस्पतालमा रहेको निःसन्तान तथा आइ.भी.एफ सेवा इकाईबाट गत वर्षमा नौ हजार ११ जनाले निःसन्तान दम्पत्तिले सेवा लिएका छन् । जसमध्ये दुई सय २२ जनालाई आइ.यू.आई सेवा र २० जना निःसन्तान दम्पतीले आइ.भि.एफ सेवा लिएको जानकारी दिनुभयो । अस्पतालले आइ.भी.एफ. सेवाको गुणस्तर बढाउन हालै इक्सी मेसिन सेवा सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो । अस्पतालले वि.स. २०७९ सालबाट ह्युमन मिल्क बैङ्क सञ्चालनमा ल्याएको थियो । सो सेवाअन्तर्गत अस्पतालले एक वर्षमा एक हजार १६१ आमाबाट ७९८ लिटर दुध सङ्कलन गरिएको छ । १६ सय ६३ नवजात शिशुलाई यो सेवा प्रदान गरिएको डा. अधिकारीको भनाइ छ ।

डा. अधिकारीका अनुसार अस्पतालले गर्भावस्थाको शिशुको मुटुको जाँच सेवा गत २०८१ जेठ १ देखि नै सञ्चालनमा आइसकेको छ ।  भ्रूणसम्बन्धी विकलाङ्ग अवस्थाको पहिचानका लागि सरकारको नीति तथा कार्यक्रममा समेत सम्बोधन गरेको हुँदा यस अस्पतालमा एनोमोली स्क्यान निरन्तर भइरहेकोमा हाल अस्पतालमा नियमित तवरबाट गर्भावस्थामा रहेको शिशुको मुटुको जाँच (फेटल इको तथा मेटर्नल इको) सम्बन्धी सेवा सञ्चालनमा ल्याएको उहाँको भनाइ छ ।

उहाँका अनुसार अस्पतालले नवजात शिशुको वंशाणुगत रोगको पहिचान गर्न न्यु बर्न स्क्रिनिङ्ग सेवा यसै वर्ष २०८१ साउन २९ गतेदेखि सञ्चालनमा ल्याइएको छ । जसले गर्दा जन्मपश्चात् हुने मानसिक सुस्तता, दीर्घरोग एवम् नवजात तथा बाल मृत्युदर घटाउन थप टेवा पुग्ने अपेक्षास्वरूप यो सेवा ल्याइएको हो ।

विक्रम संवत् २०१६ साल भदौ १० गते श्रीकृष्ण जन्माष्टमीको दिन ४० शय्याबाट सुरु भएको अस्पताल हाल ४८९ शय्याबाट सेवा दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया