तेक्वान्दो खेलाडीलाई वेल्ट र प्रमाणपत्र वितरण


धुलिखेल –  काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. ५ स्थित श्रीखण्डपुरमा रहेको अरनिको तेक्वान्दो डोजाङका खेलाडीहरुलाई वेल्ड र प्रमाणपत्र वितरण गरिएको छ । जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकका अध्यक्ष मानवीर वाईबाले दश जना खेलाडीहरुलाई कालो(ब्ल्याक) वेल्ट र अन्य खलाडीहरुलाई विभिन्न तहको वेल्ड र प्रमाणपत्र वितरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष वाईबाले खेलाडी राष्ट्रको शान भएकाले विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई विभिन्न विधाका खेलहरुमा सहभागि गराउँदै अगाडी बढ्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । विद्यार्थीहरुको शारीरिक, मानसिक र संवेगात्मक विकासको लागि खेलकुद धेरै आवश्यक रहेको बताउँदै उहाँले अब जिल्ला खेलकुद विकास समितिले जिल्लाका हरेक पालिकाहरुसंग समन्वय गरेर राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षकहरुलाई प्रशिक्षणमा खटाईने योजनाका साथ अगाडी बढिरहेको बताउनुभयो । सो क्रममा उहाँले खेलाडीहरुलाई निरन्तर रुपमा खेल प्रशिक्षण लिनका लागि खेल पूर्वाधार र सामग्री आवश्यक रहेको कारण त्यसको लागि स्थानीय सरकारले व्यवस्थापन गर्न आग्रह गर्नुभएको छ ।


धुलिखेल नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष प्रमोद श्रेष्ठले बालबालिकाहरुलाई गलत संस्कारबाट सही मार्गमा डो¥याउनका लागि खेलकुदले धेरै मद्धत गर्ने भएकाले हरेक बालबालिकाहरुलाई खेल क्षेत्रमा सहभागिता गराउन अभिभावकहरुले ध्यान दिन आग्रह गर्नुभयो ।
तेक्वान्दो प्रशिक्षक एवं अरनिको तेक्वान्दो डोजाङका सञ्चालक फिरोज शाक्यले खेल प्रशिक्षणमा निरन्तर लाग्दै आएका पहेंलो वेल्टदेखि कालो वेल्टसम्मका गरी ८५ जना खेलाडीहरुलाई वेल्ट र प्रमाणपत्र वितरण गरेको बताउनुभयो । डोजाङबाट कालो वेल्ट लिन सफल दश जना खेडालीहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाईबा र वडा अध्यक्ष प्रमोद श्रेष्ठले वेल्ट र प्रमाणपत्र वितरण गर्नुभएको छ । सो क्रममा डोजाङमा प्रशिक्षण लिदै आएका खेलाडी आरति घिमिरे, प्रियसा ग्लानलाई एसईई उत्तीर्ण भएकोमा सम्मान गरेको छ ।
त्यस्तै काठमाडौंमा भएको राष्ट्रिय प्रतियोगितामा डोजाङबाट सहभागि भइ तेस्रो स्थान हासिल गर्न सफल पेमसाङ वाईबा र नविन नेपाली उत्कृष्ट खेलाडी हुन सफल भएको तथा डोजाङको अनुशासित खेलाडी विवश हुँमागाईलाई सम्मान गरिएको छ ।
डोजाङमा एक सय जना खेलाडीहरुले प्रशिक्षण लिदै आएका छन् ।

तपाईको प्रतिक्रिया