डाँडापारिका युवाहरुलाई पत्रकारिता तालिम


धुलिखेल, २७ जेठ । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखालोका युवाहरुलाई पत्रकारिता तालिम प्रदान गरिएको छ । खानीखोला गाउँपालिकाको आर्थिक सहयोग तथा डाँडापारि मिडिया ग्रुप प्रा.लिको आयोजनामा यहाँका २८ जना युवाहरुलाई आधारभूत पत्रकारिता तालिम आयोजना गरेको हो ।
तालिम कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङले युवाहरुलाई पछिल्लो समयमा अधिकांश युवाहरु विदेश जानका लागि खुट्टा उचालेर बसिरहेको अवस्थामा यही केही गर्न सकिन्छ भनेर बाटो देखाउनका लागि तालिमले सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । ‘युवाहरु विदेश जानुहँुदैन भनेर भन्न त सकिदैन, तर गाउँका लागि केही गर्नका लागि केही सिकेर गाउँको विकासमा योगदान दिनका लागि नयाँ उर्जा दिनेछ ।’ उहाँले भन्नुभयो, ‘सञ्चारमाध्यम र प्रविधिबाट सही कुराको ज्ञान ग्रहण गर्दै सकारात्मक सोचका साथ अगाडी बढ्न आवश्यक छ ।’ यही गरेर देखाउन सम्भव छ भन्ने सन्देश युवाहरुबाट नै दिन आवश्यक रहेको कारण आशावादी भएर अगाडी बढ्न उहाँले सहभागिहरुलाई आग्रह गर्नुभयो ।
सामाजिक सञ्जालको धारणा हेरेर देश र समाजलाई धिक्कार्ने नभई जीवनमा केही गर्ने उर्जा प्रदान गर्न आम युवाहरुलाई आशावादी बनेर काम गर्न आग्रह गर्नुभयो । गाउँपालिकाले ‘हामी बनाउँछौं हाम्रो खानीखोला’ नाराका साथ स्थानीय उत्पादनलाई खरिद विक्री केन्द्र स्थापना गरी गाउँका उत्पादनलाई गाउँमै खरिद गर्ने अभियान लिएर किसानलाई आम्दानीको बाटो पहिल्याउन उत्प्रेरणा दिएको बताउँदै खानीखोला करिडोर, जनमुक्तिमार्ग निर्माण, आमा बाबा नभएका टुहुरा बालबालिकाहरुलाई आवाससहितको व्यवस्था गरेर अध्ययन गर्ने व्यवस्था सुरु गरिसकेको र तालढुंगा–खोपासी सडकलाई अगाडी बढाएर पालिकाबासिन्दाको जीवनस्तरलाई माथि उकास्ने खालको काम गरिरहेको बताउनुभयो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले पत्रकारिताको विकास गर्नका लागि लेखनशिपलाई विकास गर्दै अगाडी बढ्न आग्रह गर्नुभयो । खानीखोलालाई अगाडी बढाउनका लागि अग्रजहरुले जसरी यहाँसम्म ल्याउनुभयो, अब बाँकी अगाडी बढाउने जिम्मा युवाहरुको भएकाले गाउँको विकासका लागि एकजुट भएर अगाडी बढ्न जोड दिनुभयो ।
वडा नं. ५ का वडा अध्यक्ष बुद्धि बहादुर स्याङतानले युवाहरुलाई नकारात्मक भन्दा पनि सकारात्मक दृष्टिकोण लिएर आपसी सहकार्य र समन्वय गरेर अगाडीब ढ्न आवश्यक रहेको बताउनुभयो ।
सामाजिक व्यक्तित्व मिना पाख्रिनले गाउँको विकास र यहाँका समस्याको उजागार गर्नका लागि सूचना र सञ्चार र प्रविधिको युगमा ग्रामीण क्षेत्रका युवाहरु यस क्षेत्रमा लाग्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
प्रशिक्षक दिनेश दुलालले पछिल्लो समयमा पत्रकारिता गर्न प्रविधिले निकै सुविधा प्रदान गरेकोमा सजिलो भएपनि चुनौती त्यतिकै बढेको बताउँदै त्यसको समाना गरेर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।
डाँडापारि मिडिया ग्रुपका अध्यक्ष बुद्ध लोप्चनले विकटमा रहेका गाउँको विकास, ओझेलमा परेका बस्तिलाई उज्यालो प्रदान गर्न र काम गर्ने नेतृत्वलाई खबरदारी गर्न आवश्यक रहेको अवस्थामा युवाहरुलाई पत्रकारिता क्षेत्रमा अगाडी बढाउनका लागि तालिम आयोजना गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया