आज रंगहरूको पर्व होली तराईमा भोलि

होली अर्थात् फागु पूर्णिमा हिन्दूहरूको अत्यन्त प्राचीन पर्व। इतिहासकारहरू भन्छन् कि यो पर्वको प्रचलन आर्यहरूमा पनि थियो। यस पर्वको बारेमा विभिन्न पुराणमा समेत वर्णन भएको पाइन्छ। विभिन्न हस्तलिपि र ग्रन्थहरूमा समेत होलीको महिमा वर्णित छ। वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल पूर्णिमाको दिन मनाइने यस पर्वलाई रंगहरूको पर्व भनेर पनि चिनिन्छ।

हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा चिर लिङ्गो ठड्याएर यो पर्व सुरु हुन्छ भने पूर्णिमा सकिएलगत्तै टुँडिखेल पुर्‍याई सो चिरलाई ढलाएर दाह गरेपछि होली पर्व समापन हुन्छ। चिर ठड्याएको एकसाता पछि रंगहरू एकअर्कामा दल्दै खुसियाली बाँड्दै सद्भावका साथ यो पर्व मनाइन्छ। ज्येष्ठ नागरिकका अनुसार प्राचीन कालमा जडिबुटीजन्य वनस्पतिहरू तथा विभिन्न रंगीविरंगी फूलहरूको प्रयोग गरी यो पर्व मनाउने गरिन्थ्यो। जसले छालाका विभिन्न रोग लाग्नबाट बचाउँथ्यो भने छालामा पनि चमक बढाउँथ्यो। तर, आजभोलि बजारमा पाइने रंगहरूमा भने विभिन्न हानिकारक रसायन मिसाइएको हुनाले सावधानी अपनाउनुपर्ने देखिन्छ। रंगहरूको महत्व स् होलीमा प्रयोग हुने प्रत्येक रंगको आआफ्नै महत्व रहेको पाइन्छ। यसका अतिरिक्त यिनीहरूले फरक–फरक अर्थसमेत दर्शाउँछन्। रातो रंग हर्ष, उल्लास तथा कम्पनसँग सम्बन्धित हुन्छ जसले विजय र मंगलको संकेत गर्छ। सेतो रंगले पवित्रता र शुद्धताको संकेत गर्छ। नीलो रंगले विशालता, समावेशीता, स्वस्थ्यता एवं शान्ति दर्शाउँछ, जसले विशाल आकाश र निर्मल समुद्रलाई संकेत गर्छ। पहेलो रंगले ज्ञान, बौद्धिकता र सुखशान्ति संकेत गर्छ। कालो रंगले ऊर्जा तथा आकर्षण दर्शाउँछ, जसले सकारात्मक तथा नकारात्मक दुवै ऊर्जालाई आफूभित्र ग्रहण गर्ने क्षमता राखेको हुन्छ। यसरी प्राचीनकालदेखि नै विभिन्न महत्वअनुसार रंगहरूको प्रयोग गरी उपर्युक्त सबै फल प्राप्ति होस् भनेर होली खेल्ने प्रचलन आजपर्यन्त छ।
ग्रन्थ तथा पुराणमा होलीको सन्दर्भ स् विभिन्न ग्रन्थ त्था पुराणमा होली पर्वको सुरुआत हुनुमा विभिन्न प्रमाण पाइन्छन्। त्रेता युगमा दैत्यराज हिरण्यकशिपुका पुत्र प्रह्लाद आमाको गर्भमा हुँदादेखि नै भगवान् विष्णुका परमभक्त थिए। उनी दिनरात विष्णुकै नाम जपिरहन्थे। यो कुरा दैत्यराजलाई मन परेको थिएन किनभने उनी आफूलाई यस पूरै ब्रह्माण्डका भगवान् मान्थे। सबैले उनैको भक्त प्रह्लादलाई मार्ने अनेक उपाय गरे तर सफल भएनन्। पछि केही नलागेपछि ब्रह्मदेवसँग अग्निले डढाउन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई भक्त प्रह्लादलाई मार्ने जिम्मा दिए। त्यसपछि प्रह्लादलाई काखमा राखी अग्निमा डढाउन खोज्दा विष्णुका प्रभावले प्रह्लाद नभई स्वयं होलीका डढेर भष्म भएको र सोही दिनदेखि असत्यमाथि सत्यको विजय भएको दिन मानेर होली खेली खुसियाली बाँडेको भनी विष्णु पुराणमा उल्लेख छ।

त्यस्तै, द्वापर युगमा भगवान् कृष्णलाई मार्न राजा कंशले बहिनी पुतनालाई पठाउँदा विषयुक्त दूध चुसाउँदै गर्दा बालक कृष्णले उनको प्राणसमेत चुसेर बध गरेको दिनबाट गोकुलवासीले रंगीन पर्वको रूपमा होली मनाउँदै आएको पनि पाइन्छ। यसका साथै काठमाडौंको विभिन्न प्राचीन धार्मिक थलोहरू जस्तै हनुमानढोका, भक्तपुरको दत्तात्रय, चाँगुनारायण, ललितपुरको पाटन कृष्णमन्दिर आदिमा राधाकृष्ण, रुक्मिणी तथा अन्य १६ हजार गोपिनीसहित भएर होली पर्व मनाउने परम्परा पुराणहरूमा पाइन्छ। जसमा कृष्णले गरेको रासलीला तथा वस्त्रहरण गरी फेरि फिर्ता दिँदा रमाउँदै होली खेलेको पनि प्रसंग आउँछ।
यसरी होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ। एकदिन अगाडि राति होलीका दहन गरिसकेपछि भोलिपल्ट फागुन शुक्ल पूर्णिमाका दिन बिहानैदेखि नाचगान गर्दै झाँकी निकाल्दै रंगहरू र पानी खेल्दै होली मनाइन्छ। भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर तथा दुश्मनी बिर्सेर मान्छे एकअर्कासँग अद्धितीय सम्बन्ध स्थापित गर्छन्। यो पर्व नेपालमा पहाडदेखि तराई र गाउँसहरसम्म आआफ्ना संस्कृतिअनुसार हर्षोल्लासका साथ मनाउँछन्।
विभिन्न ठाउँमा मनाएका होली स् होली मनाएका अविस्मरणीय क्षण र अनुभवले पंक्तिकारलाई पनि बर्सेनि रौनक बर्साउँछ। रंगहरूको पर्वमा छाउने रौनकले दिने खुसी छुट्टै हुँदोरहेछ। हुर्के बढेको भारतको दार्जिलिडको एक गाउँ जहाँ होली एक पर्व हो भनेर सुनिन्थ्यो मात्र तर कसरी मनाउने भन्ने थाहै थिएन। त्यो गाउँघरतिर होली खेल्ने चलन नै थिएन। त्यतिबेला सहरी क्षेत्रमा मात्र होली खेलिन्थ्यो। होली खेलेको हेर्ने रहरले सहर पुगेको र पहिलोपटक रंगीविरंगी बनेर होली खेलेको दृष्य दसकौंपछि आज पनि ताजै छ। तथापि त्यसबेला सीमित मानिसमात्र होली खेल्ने गर्दथे। बच्चा बेलामा ती रंगहरूसँग खेल्न कति रहर जाग्यो होला मलाई रु त्यसको कुनै नापजोख थिएन।
त्यसबेला उठेको रहरको ज्वाला त नेपाल छिरेपछि मात्र पूरा गर्ने मौका पाएँ। नेपालमा खेलिने होलीले असाध्यै लोभ्याउँछ। यहाँ विभिन्न जातजाति, भाषाभाषी, धर्म–संस्कृति र सम्प्रदायका मानिस बिना भेदभाव अझ सद्भावका साथ होली खेल्नुहुन्छ, यो अद्भूत सन्दर्भ मेरा लागि झनै अद्भूत बनिदिन्छ। त्यसमा ऐतिहासिक परम्पराहरू जोडिँदा संस्कृति बचाउने विषयले दंग बनाउँछ। होलीमात्रले पनि वास्तवमै हाम्रो देश नेपाल विभिन्न संस्कार र संस्कृतिको एक धनी देश हो भन्ने पुष्टि गर्छ। पछिल्ला समयमा होली पर्व मनाउने क्रममा केही नकारात्मक तथा उशृंखलपन देखिएको छ। यसप्रति सबै सजक हुनुपर्ने देखिन्छ। प्रशासन मात्र होइन, जनमानस पनि सचेत हुनुपर्छ। होली पर्वको रौनकलाई बढावा दिने हो भने जनमानस स्वयं सजग हुनुमै सबैको कल्याण देखिन्छ। त्यसो हुन सक्यो भने भोलिका पुस्ताहरूले पनि मैले जसरी आफ्नो संस्कार र परम्पराप्रति गर्व गर्ने दिनले निरन्तरता पाउने छ। पहाडदेखि तराईसम्म र पूर्वदेखि पश्चिमसम्म सबैले मनाउने यो पर्वको गरिमा बचाउनु सबैको धर्म पनि हो।

तपाईको प्रतिक्रिया