खोपासी–ताल्ढुङगा कामीडाँडा सडक ‘संघ–प्रदेश’ को समपुरक अनुदानमा समावेश

 

काभ्रे जिल्लाको डाँडापारी क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाको केन्द्र ताल्ढुङ्गा र पनौती जोड्ने महत्वपूर्ण सडकखण्ड पनौती –खोपासी–कामीडाँडा–ताल्ढुगा सडक संघ–प्रदेशको समपुरकमा राख्ने निर्णयसहित बागमती प्रदेश बाट सिफारिस भएको छ ।
बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले सो सडक खण्डलाई समपुरक अनुदानमा राख्ने निर्णय गर्दै संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको मुख्य मन्त्री कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद बैठकमा बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री युवराज दुलालले सो सडकखण्डलाई समपुरक अनुदानमा राख्नका लागि प्रस्ताव पेश गरेका थिए । भौतिक पुर्वाधार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट सो निर्णय भएको मन्त्री दुलालले बताए ।

उक्त सडकखण्डलाई समपुरक अनुदानमा समावेश गर्नेगरी निर्णय गर्नका लागि खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले भौतिक पूर्वाधारमन्त्री दुलाल र मुख्यमन्त्री शालिकराम जमकट्टेलसँग छलफल गरेका थिए । सो सँगै अध्यक्ष थिङले संघीय सांसद एवं पूर्वराज्यमन्त्री सुर्यमान दोङ, मन्त्री तीर्थ लामा र प्रदेश सांसद एवं पूर्वमन्त्री रत्न ढकालसहितसँग समेत छलफल गरेका थिए । पूर्वमन्त्री दोङले प्रदेश र संघीय सरकारसँग आवश्यक समन्वय समेत गरेका थिए ।
छलफल अनुसार अध्यक्ष थिङले गाउँपालिकाको तर्फबाट पूर्वाधार विकास कार्यालय काभ्रेमा प्रस्ताव पेश गरेका थिए । गाउँपालिकाको प्रस्तावलाई आवश्यक निर्णयका लागि पूर्वाधार विकास कार्यालयले भौतिक पूर्वाधार मन्त्रालय हेटौँडामा पेश गरेको थियो । सोही प्रस्ताव मन्त्रालयको तर्फबाट आज मन्त्री दुलालले मन्त्रिपरिषद बैठकमा पेश गरेको जनाएको छ ।

बागमती प्रदेश मन्त्रिपरिषद बैठकबाट आवश्यक निर्णयसहित संघीय सरकार समक्ष पेश भएको अध्यक्ष थिङले बताए । यो सडकखण्ड समपुरक आनुदानमा समावेश भएसँगै खानीखोला गाउँपालिकाका अध्यक्ष थिङले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल, भौतिक पूर्वाधारमन्त्री दुलाल, संघीय सांसद एवं पूर्वराज्यमन्त्री सुर्यमान दोङ, मन्त्री तीर्थ लामा रं पूर्वमन्त्री रत्न ढकाल लाई धन्यवाद ब्यक्त गरेकाछन् ।

तपाईको प्रतिक्रिया