बनेपा÷ आर्थिक मन्दी निर्माण कार्य ठप्प भएपछि सबैभन्दा धेरै मारमा परेको क्षेत्र हो हेभी ईक्युपमेन्ट अर्थात ठूला आकारमा काम गर्ने उपकरणहरु । त्यस्ता हेभी ईक्युपमेन्ट संचालन गर्ने व्यवसायीको साझा संस्था काभ्रे हेभी इक्युपमेन्ट व्यवसायी संघको चौथो साधारण सभामा व्यवसायीले आफ्नो क्षेत्रमा परेको समस्या र त्यसलाई समाधान कसरी गर्न सकिन्छ भनेर खुलेर छलफल गरेका छन् । केन्द्रीय अध्यक्ष तथा पदाधिकारी, निर्माण व्यवसायी संघ,नागरिक समाज र पत्रकारको उपस्थितीमा सोमबार धुलिखेलमा आयोजित विशेष सभामा बोल्ने अधिकाशं वक्ताहरुले अहिलेको अवस्थामा हेभी ईक्युपमेन्ट संचालनमा भएको समस्याको बारेमा छलफल गरिएको थियो । हेभी ईक्युपमेन्ट महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले काभ्रेले सदैव हेभी ईक्युपमेन्टको विकासमा भुमिका खेलेको बताउनुभयो । उहाँँले तत्कालिन जिल्ला विकास समिति काभ्रेले समेत डोजेर किनेर विकास गरेको प्रसङ्गमा बोल्दै विकासमा हेभी ईक्युपमेन्ट पर्याय रहेको उल्लेख गर्नुभयो । विशेष अतिथि ताराबहादुर कुँवरले हेभी ईक्युपमेन्टको क्षेत्रमा मन्दी आएको समयमा पनि काभ्रेले अधिवेशन गर्ने हिम्मत राखेर उदारहणीय काम गरेको बताउनुभयो । उहाँले आफूसँग भएका दर्जन हेभी ईक्युपमेन्टमध्ये सबैले अपरेटरलाई तलब दिने पैसा समेत कमाउन नसकेको बताउनुभयो । पूर्व मन्त्री चन्द्र लामाले हेभी ईक्युपमेन्टको सहयोगबाट मात्रै समृद्धिको सपना पुरा हुने उल्लेख गर्नुभयो । कार्यक्रममा हेभी ईक्युपमेन्ट महासंघका महासचिव सुरेश खत्री, उद्योग वाणिज्य महासंघ काभ्रेका उपाध्यक्ष कैलाश पलाञ्चोके, निर्माण व्यवसायी संघ काभ्रेका अध्यक्ष विजय लामा, हेभी ईक्युपमेन्ट काभ्रेका उपाध्यक्ष प्रभुराम श्रेष्ठ लगायतकाले बोलेका थिए । कार्यक्रमको सभापति हेभी ईक्युपमेन्ट काभ्रेका अध्यक्ष मोहन श्रेष्ठले गरेका थिए । चुनौती स्वीकार्दै प्रभुरामको नेतृत्वमा नयाँ समिति हेभी ईक्युपमेन्टको क्षेत्रमा विद्यमान चुनौतीलाई स्वीकार्दै प्रभुराम श्रेष्ठको नेतृत्वमा नयाँ समिति चयन भएको छ । अध्यक्षमा निर्विरोध निर्वाचित श्रेष्ठले सबैले काम कसरी पाउन सक्नुहुनेछ भन्ने हिसाबले योजना बनाउने बताउनुभयो । व्यवसायीको हकहितको लागि सदैव कार्य गर्ने र अग्रजसँगको सल्लाहमा योजना बनाएर अघि बढ्ने उहाँले बताउनुभयो । समितिको उपाध्यक्षमा रामशंकर कर्माचार्य, सचिव गोकुलप्रसाद भुर्तेल, सहसचिव रामहरि भण्डारी, कोषाध्यक्ष धरसमान तामाङ चयन भएका छन् । समितिको कार्यसमितिमा मदन नेपाल, अरुण उलक, दिलदोर्जे लामा, माधवप्रसाद कँडेल, दिनेश सापकोटा, सुधिर श्रेष्ठ चयन भएका हुन् ।
तपाईको प्रतिक्रिया