काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानीय तहमा अहिले पनि वर्षौंपहिले विद्युत् आपूर्तिका लागि प्रयोग गरिएका चार हजारभन्दा बढी काठका पोल प्रयोग भइरहेका छन् ।
नेपाल विद्युत् प्राधिकरण, काभ्रे वितरण केन्द्र र पाँचखाल वितरण केन्द्रले दुई वर्षअघि आफ्नो सेवा क्षेत्रभित्र रहेका काठका पोल विस्थापन गर्ने अभियान सञ्चालन गरे पनि पछिल्लो समय बजेट अभावका कारण अभियान सञ्चालन हुन सकेको छैन ।
वर्षौं पहिले गाडिएका काठका पोल जीर्ण भइसकेका छन् । काठको पोल विस्थापन गर्न नेपाल विद्युत् प्राधिकरणले बजेट व्यवस्थापन गर्न नसकेपछि यस वर्ष काठको पोल विस्थापन अभियान भने सञ्चालन नहुने भएको हो । प्राधिकरणको बनेपा वितरण केन्द्रका प्रमुख इन्जियिर अमृतबाबु अधिकारीले बनेपा वितरण केन्द्र अन्तर्गत करिब तीन हजार चार सय काठका पोल प्रयोग भएको बताउनुभयो ।
बनेपा वितरण केन्द्र अन्तर्गत बेथानचोक गाउँपालिकामा हाल सबभन्दा धेरै काठका पोल प्रयोग भएका छन् । बेथानचोक गाउँपालिकाका छ वटा वडामा हाल करिब एक हजार दुई सय काठको पोल प्रयोगमा रहेको केन्द्र प्रमुख अधिकारीले जानकारी दिनुभयो । यसै गरी बनेपा केन्द्र अन्तर्गतको बनेपा नगरपालिकामा आठ सय, पनौती नगरपालिकाको वडा नं. १, २ र ३ मा छ सय, धुलिखेल नगरपालिकामा तीन सय, नमोबुद्ध नगरपालिकामा दुई सय, रोसी गाउँपालिकामा तीन सय र मण्डनदेउपुर नगरपालिका–२ र ३ मा २० वटा काठको पोल प्रयोग भएको उहाँले बताउनभुयो ।
“हाम्रो सेवा क्षेत्रभित्र काठको पोल प्रयोग भए पनि यसलाई विस्थापन गर्न हामीसँग छुट्टै बजेटको व्यवस्था छैन, यदि कहीँ कतै काठको पोल प्रयोग भएको स्थानमा पोल जीर्ण भई विद्युत् अवरोध हुने अवस्था आएको खण्डमा हामी बजेट छुट्टै नभए पनि नियमित मर्मतसम्भार कार्यक्रम त्यस्ता पोल विस्थापन गरी स्टिल पोल हाल्ने छौँ,” बनेपा वितरण केन्द्र प्रमुख अधिकारीले भन्नुभयो ।
उहाँले काठको पोल विस्थापन गर्नुपर्ने सहरी क्षेत्रमा सिमेन्टको पोल र ग्रामीण क्षेत्रमा स्टिलको पोल प्रयोग गरिने बताउनुभयो । उहाँले काठको पोल विस्थापनका लागि धेरै बजेट खर्च गर्नुपर्ने भएकाले काठको पोल नभाँचिएसम्म त्यही पोल नै प्रयोग गर्ने र भाँचिएर विद्युत् अवरोध हुने खण्डमा मात्रै अर्को पोल हालिने बताउनुभयो ।
यसै गरी नेपाल विद्युत् प्राधिकरण पाँचखाल वितरण केन्द्रका प्रमुख इन्जिनियर सुनील सापकोटाले पाँचखाल वितरण केन्द्र अन्तर्गत करिब आठ सय वटा काठको पोल मात्रै प्रयोगमा रहेको बताउनुभयो । उहाँले पाँचखाल सेवा केन्द्र अन्तर्गतको भुम्लु गाउँपालिकामा करिब चार सय, पाँचखालमा एक सय र तेमाल गाउँपालिकाभित्र सामुदायिक विद्युत्ीकरण अन्तर्गत करिब दुई सय काठको पोल प्रयोगमा रहेको बताउनुभयो ।
पाँचखाल केन्द्र अन्तर्गत हाल कति काठका पोल प्रयोगमा रहेका छन् र कति विस्थापन गर्नुपर्ने अवस्थामा रहेका छन् भन्ने सन्दर्भमा तथ्याङ्क सङ्कलनका लागि कर्मचारीलाई निर्देशन दिइएको बताउनुभयो । उहाँले काठको पोल विस्थापनका लागि छुट्टै बजेट नभएकाले काठको पोल भाँचिएको खण्डमा मात्रै पोल विस्थापन गरिने बताउनुभयो ।
तपाईको प्रतिक्रिया