बनेपा÷काभ्रेको बनेपामा रहेको आदर्श विद्या मन्दिर (एबिएम स्कूल) मा कक्षा ११ र १२ को सामाजिक अध्ययन विषयमा अध्ययनरत विद्यार्थीले नमूनाको काम गरेका छन् । टिफिनको पैसा जोगाएर अग्नी पिडितलाई आधा लाखको सहयोग गरेसँगै उनीहरुले सामाजिक उत्तरदायित्व निर्वाह गरेका छन् ।
सोही विद्यालयमा अध्ययरत विद्यार्थी शिसिर सापकोटाले आफूसँग भएको रकम सामाजिक कार्यमा लगाउने उदेश्यले बनेपा नगरपालिका वडा नं ११ मा रहनु भएको एकल महिला आमालाई हस्तान्तरण गरेको बताए । उनले सामाजिक उत्तरदायित्व बहन गर्नका लागि सो रकम हस्तान्तरण गरेको आगामी दिनमा समेत यस्तै रचनात्मक कार्य गर्ने बताउँदै सबैको साथ सहयोगको अपेक्षा गरेको बताए ।
महिला हिंसामा पर्नु भएर कष्टकर जीवन बिताइरहेको समयमा केही समयअघि आगलागीबाट टिनले बारेमा घरसमेत जलेपछि समस्यामा पर्नु भएको एकल महिलालाई टिफिनबाट बचेको पैसा सहयोग गरेपछि अभिभावक पनि आफ्ना छोराछोरीको कामदेखि औधि खुसी भएका छन् ।
विद्यालयका शिक्षक एंव बरिष्ठ मानव अधिकारकर्मी भोजराज तिमल्सिनाले विद्यालयमा स्थापना भएको परिवर्तनका लागि हामी समुह भन्ने समुह बनाएर विद्यार्थीले खाजाको पैसाबाट जोगाएर सो रकम हस्तान्तरण गरेका हुन् ।
उनीहरुले अघिल्लो तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको पैसाबाट मानवीय सेवा स्वरुप ४० हजार एकसय पचास रुपैया आर्थिक सहयोग गरेको तिमल्सिनाले बताए ।
विद्यार्थीले एकल महिलाको छोराछोरीलाई एबिएम स्कूलको कक्षा १२ सम्म निःशुल्क पढाईदिने, कानुन संकायका विद्यार्थीले निःशुल्क कानुनी सहयोग गर्ने र आमसंचार विषयमा अध्ययनरत विद्यार्थीले उनको अवस्थाका विषयमा अध्ययन गरी सार्वजनिक गर्ने निर्णय गरेको प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले बताए ।
उदाहरणीय कामको साक्षी बनेका थिए, जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतम, बनेपा नपाकी उपप्रमुख विमला सापकोटा दाहाल, जिल्ला प्रहरी कार्यालयकी डिएसपी अन्जना श्रेष्ठ, इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी रेशम बोहोरा मानवअधिकारकर्मी भोजराज तिमल्सिना, हंसदा योग आश्रमका संरक्षक योग गुरु ऋषिकुमार पंञ्चशिल, बनेपा नपा १० का वडाअध्यक्ष चन्द्रबहादुर खड्का, वडा नम्बर ११ का वडा अध्यक्ष शिवकुमार थापा, अग्रज पत्रकार मधुसुधन गुरागाई, पत्रकार लक्ष्मण तिमल्सिना, विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिना । वडाअध्यक्ष चन्द्रबहादुर खड्काले सोही कार्यक्रममा पीडित महिलालाई वडामा जम्मा भएको रकम समेत हस्तान्तरण गर्नुभएको थियो । श्रीपञ्चमीका दिन पारेर गरिएको पुण्य कामसँगै विद्यार्थीले घरेलु हिंसा रोकथाम सम्वन्धी नाटक समेत प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया