काभ्रेपलाञ्चोक जिससको निर्वाचन असार १ गते, कांग्रेस एक्लैसँग २६ मध्ये १३ भोट

बनेपा÷ जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचन आगामी असार १ गते हुने भएको छ । काभ्रेपलाञ्चोक जिल्लाका मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराइले निर्वाचन सम्बन्धि कार्यतालिका सार्वजनिक गरेपछि काभ्रेको निर्वाचनको मिती तय भएको हो । अघिल्लो निर्वाचनबाट एमालेका नेता उद्धव केसी जिसस प्रमुखमा विजयी बनेपछि भुमिका भने राम्रोसँग निर्वाह गर्न नसकेको आरोप खेपिरहेको समयमा हुन लागेको निर्वाचनलाई गम्भिरताका साथमा हेरिएको छ । तालिका अनुसार निर्वाचनको लागि उमेद्वारको मनोनयन पत्र दर्ता गर्ने मिति यहि जेठ २९ गते तोकिएको हो ।
जिल्ला समन्वय समितिमा एक प्रमुख, एक उपप्रमुख र तीन महिला सहित ९ सदस्यको निर्वाचन हुनेछ । मतदाताको रुपमा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउपालिकाका अध्यक्ष र उपाध्यक्ष हुने व्यवस्था छ । काभ्रेमा १३ स्थानीय तह भएकोले जिल्ला समन्वय समितिको मतदाता २६ जना रहने छन् । जिल्ला समन्वय समिति निर्वाचनमा कांग्रेस एक्लैको १३ मत रहेको छ भने माओवादी केन्द्रको ८ मत रहेको छ । एमालेको ४ र एकीकृत समाजवादीको एक मत रहेको छ ।
जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि मध्येबाट उम्मेदबार बन्न पाउने भए पनि कार्यकारी पदमा रहेकाहरुले उम्मेदबारी गरेको पाइदैन । पालिका प्रमुख उपप्रमुख र वडा अध्यक्ष बाहेक वडा सदस्यहरु मध्येबाट जिल्ला समन्वय समितिमा उम्मेदबारी हुने गर्दछ । उम्मेदबार भएपनि आफैले आफैलाई मत भने दिन पाउँदैनन् । काभ्रेमा गठबन्धनले एकीकृत समाजवादीलाई जिससको प्रमुख बनाउने सहमती गरिसकेको छ ।

तपाईको प्रतिक्रिया