बनेपा÷अनियमितता, भष्ट्राचार, जालझेली र नातावाद र कृपावाद रोक्न काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका शम्भुप्रसाद फुयाँलले आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । भ्रष्टाचारको अन्त्य गरी सुशासन, समृद्धि सहितको नमुना नगर निर्माण गर्न भन्दै फुयालले मेयर पदमा उम्मेदवारी दिनुभएको थियो । उहाँ आफ्ना योजना बोकेर बस्तीबस्तीमा खटिरहनु भएको छ ।
यस्तो छ प्रतिबद्धता पत्र (पूर्ण पाठसहित)
आदरणीय नगरबासी आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा नमस्कार !
मण्डनदेउपुर नगरपालिकामा भएको भ्रष्टाचारको अन्त्य गरी सुशासन, समृद्धिसहितको नमुना नगर निर्माणका लागि म शम्भुप्रसाद फुयालले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएको छु । नमुना नगर निर्माणका लागि यहाँहरुको अमूल्य मत धारा चिन्हमा प्रदान गरी विजयी गराउनु हुन अनुरोध गर्दछु । यहाँ उल्लेखित प्रतिबद्धताहरु सम्बन्धित विषयका विषयविज्ञ, बौद्धिक समुह, स्थानीय भद्रभलाद्मी सहितको नगर सल्लाहकार समिति निर्माण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दछु ।
शिक्षा तथा प्रविधि
मण्डन देउपुर नगरपालिकाका सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र गुणस्तर सुधार गर्ने ।
प्राविधिक तथा सिपमुलक शिक्षामा विशेष जोड दिने । प्राविधिक विद्यालयको स्थापना गर्ने ।
पूर्वीय दर्शन र आधुनिक विज्ञानलाई समायोजन गरी शिक्षाको विकास गर्ने ।
सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि अभिभावक, विद्यार्थी, बौद्धिक वर्गलाई समेत समावेश गरी गुणस्तरीय शिक्षण सिकाइ गर्ने ।
सूचना प्रविधिको ज्ञान दिने गरी स्थानीय पाठ्यक्रम विकास गर्ने ।
शैक्षिक संस्थामा राजनीतिकरणको अन्त्य गर्ने ।
खोज तथा अनुसन्धानकर्तालाई सहजीकरण गर्ने । जीवनोपयोगी शिक्षा अनुसरण गर्ने ।
शैक्षिक संस्थामा दिवा खाजा, पोशाक, शैक्षिक सामाग्री, स्कुल बसको निःशुल्क व्यवस्था गर्ने ।
शैक्षिक ग्रामको स्थापना गर्ने ।
नगर क्षेत्रभित्र उपयुक्त स्थानको पहिचान गरी लाइब्रेरी (इ–लाइब्रेरीसहित) स्थापना गर्ने ।
विज्ञान तथा प्रविधि केन्द्र निर्माण गर्ने ।
सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेटको व्यवस्था गर्ने ।
स्वास्थ्य
मण्डनदेउपुर नगरपालिकाको स्वामित्वमा निःशुल्क सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्ने ।
आधारभुत स्वास्थ्य सुविधा पूर्ण निःशुल्क गर्ने ।
वृद्धवृद्धा तथा शारीरिक अपांगता भएका व्यक्तिहरुका लागि विशेष निगरानीमा स्वास्थ्य सेवा उपलब्ध गराउने ।
स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।
भुगोलका आधारमा पायक पर्ने स्थानमा आधारभुत स्वास्थ्य चौकि निर्माण गर्ने ।
नगर अस्पताललाई स्तरीय अस्पतालका रुपमा विकास गर्ने ।
जटिल रोग लागेका अति विपन्न नगरबासिको उपचारका लागि कोष स्थापना गर्ने ।
नगर क्षेत्रका भीडभाड हुने क्षेत्रमा सार्वजनिक शौचालय (अपांगमैत्री) को निर्माण गर्ने ।
स्वास्थ्य स्वयं सेविकाहरुको क्षमता वृद्धि गर्ने, र प्रोत्साहन भत्ता उपलब्ध गराउने ।
मातृ शिशु स्याहार केन्द्रको स्थापना गर्ने । विद्यालयका बालिकाहरुलाई सेनेटरी प्याड निःशुल्क व्यवस्था गर्ने ।
फोहोरमैला व्यवस्थापन
फोहोरलाई मोहोरमा बदल्ने नीति अवलम्बन गर्ने ।
जैविक, प्लाष्टिक र सिसाजन्य फोहोरलाई छुट्टाछुट्टै संकलन गरि व्यवस्थापन गर्ने ।
ढल निकासको निर्माण तथा व्यवस्थापन गर्ने ।
खानेपानी तथा सिंचाई
एक घर एक धारा स्थापना गर्ने ।
स्वस्थ खानेपानीलाई प्रत्येक घरघरमा उपलब्ध गराउने ।
सिंचाईका लागि जलासय निर्माण गर्ने ।
चाखोला÷आसिंखोला÷ढाडखोला लगायत अन्य उपयुक्त स्थानमा जलासय तथा पोखरी निर्माण गर्ने, जसबाट कृषि, पर्यटन विकास, सिंचाई र खानेपानीको व्यवस्थापन गर्ने ।
आवश्यक ठाउँको पहिचान गरी लिफ्ट सिंचाईको प्रबन्ध गर्ने ।
पुराना पानीका मुहान, पधेँरा, पोखरीहरुको संरक्षण गर्ने ।
सिंचाई कुलोहरुलाई थप व्यवस्थित गर्ने । आवश्यक ठाउँमा निर्माण गर्ने ।
यातयात र सडक
विगतमा कमजोर सडक निर्माण गरी वर्षा याममा हिलाम्मे र हिउँद याममा धुलाम्मे हुँदै आइरहेका सडकहरु हिउँद र वर्षा याममा राम्रोसँग चल्न सक्ने गरी निर्माण गर्ने ।
नगर भित्रका सबै क्षेत्रमा सवारी साधनको सहज सुविधा उपलब्ध गराउने ।
नगरमा सुरक्षाका लागि मुख्य चोक–चोकहरुमा सडक बत्ती र सिसिटिभी जडान गर्ने ।
वातावरणमैत्री सवारी साधनलाई विशेष प्राथमिकता दिने ।
यातायातको पहुँच विस्तारका लागि वैकल्पिक साधनहरुको प्रयोगमा जोड दिने ।
नगर क्षेत्रभित्र विभिन्न स्थानमा व्यवस्थित बसपार्क निर्माण गर्ने ।
कृषि
कृषिमा आत्मनिर्भर नगर निर्माण गर्ने ।
कृषिजन्य उत्पादनलाई बढाउन सिंचाई, उन्नत बिऊविजन, दक्ष प्राविधिकको व्यवस्था गर्ने ।
उत्पादित वस्तुको बजारीकरण गरी बिचौलिया अन्त्य गर्ने ।
कृषकहरुलाई सहज रुपमा बिऊ विजन र मल उपलब्ध गराउने ।
नगर क्षेत्रमा कोल्ड स्टोरको निर्माण गर्ने ।
स्थानीय उत्पादनको विविधिकरणमा जोड दिने ।
कृषि तथा पशु प्राविधिक कार्यालयको सक्रियता बढाउने ।
कृषि तथा पशुपालन बिमा कार्यक्रमलाई प्रोत्साहन गर्ने ।
प्रत्येक घरलाई फलफुलका विरुवा निःशुल्क उपलब्ध गराउने ।
मेहनती किसानलाई प्रोत्साहन तथा पुरस्कृत गर्ने ।
बिऊ विजनमा आत्मनिर्भर नगर बनाउने ।
चिन, कोरिया, इजरायल, जापान लगायतका देशबाट उन्नत बिऊ विजन, प्राविधिक झिकाइ उत्पादनमा जोड दिने ।
बोटबिरुवाका लागि जैविक औषधीको उत्पादन तथा प्रयोग गर्ने ।
खेलकुद
भुगोलअनुसार नगरमा खेलकुद मैदानहरुको निर्माण तथा स्तरोन्नति गर्ने ।
खेल, खेलाडि र प्रशिक्षकलाई प्रोत्साहित गर्ने ।
बालबालिकालाई आत्मरक्षाका लागि निःशुल्क तालिम प्रदान गर्ने ।
पर्यटन, वातावरण र संस्कृति
पर्यटकीय क्षेत्र विकासका लागि होमस्टे विकास गर्ने । साथै पदयात्राको विकास गर्ने ।
नगरकोट–ब्रह्मायणी–सुलिकोट लगायतका उपयुक्त स्थानको पर्यटन प्रवद्र्धन गर्ने । कृषि पर्यटनको विकास गर्ने ।
पर्यटनमार्फत रोजगारी सिर्जना गर्ने ।
भौगोलिक सौन्दर्य, साँस्कृतिक तथा धार्मिक स्थानलाई मध्यनजर गरी स्थानीय तथा बाह्य क्षेत्रको सहयोगमा पर्यटन प्रवद्र्धन गर्न जोड दिने ।
वातावरण, पर्यावरण तथा जैविक विविधता संरक्षण गर्न विशेष जोड दिने ।
वातावरण प्रदुषण गर्ने सबै उद्योग कलकारखानाहरुलाई प्रदुषण कम गर्ने प्रविधि प्रयोग गर्न अनिवार्य गर्ने । साथै वातावरणमैत्री उद्योगहरुलाई प्रोत्साहन गर्ने ।
इन्द्रावती, चाखोला, आँसिखोला, ढाडखोला जस्ता नदी संरक्षणमा विशेष ध्यान दिने ।
साँस्कृतिक धरोहरहरुको संरक्षण गर्ने ।
मौलिक संस्कृतिको संरक्षण, पुराना पाटि, पौवा, ढुंगे धारा, पधेंरा, कुवा, पोखरी, मठमन्दिर, गुम्बा, विहार पुरानै स्वरुपमा पुनः निर्माण गर्ने ।
सामुदायिक वन तथा खुल्ला रहेका पाखाहरुलाई सदुपयोग गरी आयमुलक बनाउने । पार्क, चिडियाखाना सञ्चालन गर्ने ।
पूर्वाधार तथा शहरी विकास
मण्डनदेउपुर नगर क्षेत्रभित्र चक्रपथ निर्माण गर्ने ।
खेतीयोग्य जमिन संरक्षणार्थ अनुत्पादक क्षेत्रमा बस्ती विकास गर्न शहरी पूर्वाधारको विकास गर्ने ।
उपलब्ध पूर्वाधारहरुको संरक्षण, स्तरोन्नति गर्दै थप आवश्यकीय निर्माण गर्ने ।
पूर्वाधार विकासमा प्राविधिक समस्याहरुको न्युनिकरण गर्ने ।
सार्वजनिक स्थानमा प्रतिक्षालयको निर्माण गर्ने ।
बृद्धाश्रम तथा वृद्धवृद्धाका लागि मनोरञ्जन स्थलको निर्माण गर्ने ।
स्थानीय टोल सुधार समितिलाई प्रभावकारी अनुगमन गरी सक्रिय तथा जिम्मेवार बनाउने ।
पूर्वाधार विकासको क्रममा प्रभावकारी अनुगमन गरी पारदर्शिता सार्वजनिक गर्ने ।
जनतासँग प्रत्यक्ष सवाल राख्ने नगरपालिकाका महत्वपूर्ण बैठकहरु लाइभ गर्ने ।
सुशासन
भ्रष्टाचारमुक्त नगरपालिका बनाउने ।
सेवाग्राहीलाई अनावश्यक झन्झटबाट मुक्त गर्न छुट्टै परामर्श कक्ष स्थापना गर्ने ।
नगर क्षेत्रमा प्रभावकारी सुरक्षाको ग्यारेन्टी गर्ने ।
अत्यावश्कीय सेवाहरु घरदैलोमा उपलब्ध गराउने ।
अनावश्यक कर कटौती गर्ने ।
दैविक विपत्ति
दमकलको व्यवस्था गर्ने ।
प्राकृतिक विपत्ति सम्बन्धमा पूर्व तयारीका कार्यक्रमहरु निर्माण गरी कार्यान्वयन गर्ने । त्यसको आर्थिक व्यवस्थापनका लागि कोष खडा गर्ने ।
दैविक विपत्तिबाट बच्नका लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने ।

तपाईको प्रतिक्रिया