फराकिलो बन्दै पशु क्षेत्र

बनेपा÷ सानो घेराभित्र रहेको पशुस्वास्थ्यको क्षेत्र फराकिलो बन्ने भएको छ । पुस ३० गते बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय पशु प्रजनन नीति, राष्ट्रिय पशु स्वास्थ्य नीति र बर्डफ्लू नियन्त्रण नियमावली २०७८ स्वीकृत गरेसँगै पशु स्वास्थ्यको क्षेत्र निक्कै फराकिलो बन्ने भएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी डा. प्रदीपचन्द्र भट्टराई पशुपालनको क्षेत्रलाई व्यवसायिक, नाफामुखी तथा आत्मनिर्भर बनाउने महत्वपूर्ण औजारको रुपमा मन्त्रीपरिषद्ले स्वीकृत गरेको नितीलाई लिन सकिने बताउनुहुन्छ ।
उहाँले सरकारले पशु स्वास्थ्य, पशु प्रजननको नीति र बर्डफ्लू नियन्त्रणसम्बन्धी नियमावली स्वीकृत गरेपछि यसको क्षेत्र निक्कै फराकिलो बनेको भन्नुभयो । ‘२०५७ सालदेखि नै थालिएको प्रयासले अहिले आएर मूर्त रुप लियो’ भट्टराईले खुसी व्यक्त गर्नुभयो ।
‘यसले संविधानले व्यवस्था गरेको तीन तहको सरकारसँग प्रत्यक्ष समन्वय गरेर काम गर्न सक्ने बाटो खुल्ला पारेको छ’ प्रवक्ता भट्टराई भन्नुभयो । यसमा आवश्यक विनियमावली तथा आवश्यक कानुन बनाएर पशुपालनको क्षेत्र बृहत बनाउन भुमिका खेल्ने बाटो खुल्ला भएको बताउनुभयो ।
पशुपालन नाफामुखी नहुँदा आत्मनिर्भर बन्न नसकेका पशुपालक किसानका लागि यो नीति बरदान सावित हुन सक्ने भट्टराई भन्नुहुन्छ । ‘जैविक विविधताको संरक्षण गर्दै नेपालमा रहेका रैथानेलाई जोगाउने र अहिले रहेका पशुमा उच्च नश्लको प्रयोग गरेर उत्पादकत्व बढाउने कुरामा नीतिले जोड दिनेछ’ भट्टराईले भन्नुभयो ।
नेपालको हिमाल, पहाड र तराइमा रहेका रैथाने पशुपन्छीको सोही स्थानमा संरक्षण, भूगोल र जात अनुसार उच्च नश्लको विस्तार र उत्पादकत्वमा बृद्धि गराउने आधार तयार पारेको पशु प्रजनन महाशाखा खुमलटारका खोजकर्ता सरोज सापकोटा बताउनुहुन्छ ।
‘यसले सिंगो पशु विकासको क्षेत्रमा नयाँ आयाम ल्याउँछ’ सापकोटा थप्नुभयो ‘ पशु विकासको क्षेत्रमा भैरहेका धेरै कुराको अनुगमन नियन्त्रणमा यो नीतिले धेरै सहयोग पु¥याउँछ ।’
विदेशबाट अनुशन्धान बिनानै ल्याएने पशु नश्ल तथा पशुपालनबाट मुनाफा कम भएर पलायन भैरहेका किसानलाई यो नीतिले राहत पु¥याउने सापकोटाको दावि छ ।
पशु प्रजनन् सम्बन्धी नीतिले प्रजननको क्षेत्रमा जात, त्यसको हाइब्रिड विकास, मूल्य निर्धारणका विषय समेट्ने छ भने प्रजनन् नीतिले पनि पशु ब्रिडिङलाई थप व्यवस्थित गर्ने प्रवक्ता भट्टराईले भन्नुभयो ।
पशु प्रजनन नीति नहुँदा पशु प्रजनन् क्षेत्रमा देखिएको अनुमानका आधारमा हुने कार्यलाई अब यस नीतिले अंकुश लगाउँदै थप नयाँ परिमार्जित अवधारण बनाउँदै व्यवस्थित पशु प्रजनन् कार्यतर्फ डो¥याउने बाटो खुलेको सापकोटा भन्नुहुन्छ ।
मुलुक संघियतामा गएपछि बर्डफ्लू नियन्त्रण नीतिगत अस्पष्टतालाई व्यवस्थित गर्ने गरी बर्डफ्लू नियन्त्रण नियमावली पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको मन्त्रालयले जनाएको छ ।
जनावरबाट मानिसमा सर्ने रोगहरुको संख्या पछिल्लो समय बढिरहेको छ । मानिसहरुमा जस्तै पशुहरुमा समेत एकै पटक महामारी फैलन सक्ने कुरामा संघीय सरकार, प्रदेश सरकार स्थानीय तह मिलेर कसरी काम गर्न सकिन्छ भन्ने बारेमा नीतिले सम्बोधन गरेको छ । यसले तीन तहमा फरक फरक रुपमा कार्यविभाजन गर्दै स्थानीय तहमा खोज तथा उपचार, प्रदेश तहले स्थानीय र संघीय सरकारसँग समन्वय र संघीय सरकार नीति निर्माण, बजेट व्यवस्थापन र निर्देशन दिने बाटो खुल्ला भएको छ ।

तपाईको प्रतिक्रिया