
नमोबुद्ध ज्येष्ठ नागरिक सेवा केन्द्रका कोषाध्यक्षसहित ६ जना कार्यसमिति सदस्यले सामूहिक राजीनामा दिएका छन्। संस्थाभित्र केही व्यक्तिहरूको खराब आचरणका कारण संस्था सोचेअनुसार सञ्चालन गर्न नसकिने भन्दै उनीहरूले सोमबार पत्रकार सम्मेलनमार्फत राजीनामा सार्वजनिक गरेका हुन्।
करीब दुई वर्षअघि नमोबुद्ध–३ दाहालचौरमा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन निर्माण गर्ने उद्देश्यले संस्था दर्ता गरिएको थियो। सोही उद्देश्यअनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले गत महिना श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ एवं नमोबुद्ध–३ दाहालचौर धार्मिक महोत्सव आयोजना गरेको थियो।
मूल समारोह समितिका अध्यक्ष एवं संस्था सदस्य रामकुमार मैनालीका अनुसार, भविष्यमा कुनै विवाद नहोस् भन्ने उद्देश्यले महायज्ञमा उठेको रकमसहित आय–व्यय विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।
माघ १९ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको सप्ताहमा १५ लाख २० रुपैयाँ संकलन भएको मूल समारोह समितिका सचिव सन्तोष दाहालले जानकारी दिए। उनका अनुसार १२ लाख ७८ हजार ९ सय १५ रुपैयाँ खर्च भएको छ भने २ लाख ८६ हजार ५ सय १ रुपैयाँ उठ्न बाँकी रहेको छ।
राजीनामा दिनेहरूमा कोषाध्यक्ष रुकुमणि अधिकारी, सदस्यहरू रामकुमार मैनाली, केशव अधिकारी, अम्बिका हुमागाई, तारादेवी पौडेल लगायत रहेका छन्। उनीहरूले अध्यक्ष अप्सरा सत्यालसमक्ष राजीनामा बुझाएका हुन्।
अध्यक्ष अप्सरा सत्यालले सप्ताह अपेक्षाकृत सफल नभए पनि सहयोगी बनेको बताउँदै सामूहिक राजीनामाले संस्थालाई अगाडि बढाउन कठिनाइ हुने उल्लेख गरिन्। आगामी दिनमा पुनः सहकार्य गर्दै संस्था सञ्चालन गर्ने प्रयास गरिने उनको भनाइ छ।
पत्रकार सम्मेलनमा मूल समारोह समिति संयोजक मैनाली, उपाध्यक्ष रामहरी दाहाल, महासचिव दिपेन्द्र अधिकारी, सचिव सन्तोष दाहाल, सह–कोषाध्यक्ष तीर्थराज पौडेललगायत स्थानीयवासी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया