
अमित लामा यतिबेला काभ्रे क्षेत्र नं. १ अन्तर्गत गाउँबस्तीमा घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ । बिहानको घामसँगै उकालो–ओरालो चहार्दै स्थानीयका आँगनमा पुगेर विकासका एजेन्डा सुनाउने र सुझाव संकलन गर्ने उहाँको शैलीले चुनावी माहोललाई थप सक्रिय बनाएको छ ।
डाँडापारी क्षेत्रका खानीखोला र महाभारतका बस्तीमा पुगेर उहाँले कृषि, रोजगारी र पूर्वाधार विकासलाई केन्द्रमा राख्दै दीर्घकालीन योजना सार्वजनिक गर्नुभएको छ ।
कफी पकेट क्षेत्रको अवधारणा
“डाँडापारीको माटोमा विश्व बजारको सम्भावना”
डाँडापारीको हावापानी र भू–बनोट कफी खेतीका लागि उपयुक्त रहेको उल्लेख गर्दै लामाले खानीखोला र माहाभारत गाउँपालिका लाई कफीको पकेट क्षेत्र बनाउने प्रतिबद्धता जनाउनुभएको छ।
स्थानीय किसानलाई प्राविधिक तालिम, बीउबिजन, प्रशोधन र बजारीकरणसम्मको एकीकृत प्रणाली विकास गरिने उहाँको भनाइ छ। “उत्पादन मात्रै होइन, ब्रान्डिङ र निर्यातसम्मको सुनिश्चितता गर्नुपर्छ,” उहाँले घरदैलो कार्यक्रममा भन्नुभयो । कफी खेती विस्तारसँगै सहकारीमार्फत सामूहिक उत्पादन र प्रशोधन केन्द्र स्थापना गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

जडीबुटी संकलन तथा प्रशोधन केन्द्र
‘ड्रिम प्रोजेक्ट’ मार्फत ग्रामीण रोजगारी
डाँडापारीलाई नेपालकै नमुना जडीबुटी संकलन तथा प्रशोधन केन्द्र बनाउने योजना लामाले आफ्नो ‘ड्रिम प्रोजेक्ट’का रूपमा अघि सार्नुभएको छ ।
उहाँका अनुसार देश तथा विदेशका लगानीकर्ता, सरकारी तथा गैरसरकारी निकायसँग प्रारम्भिक छलफल भइरहेको छ। परियोजना सञ्चालनमा आएपछि स्थानीय स्तरमै प्रशोधन उद्योग स्थापना भई युवालाई गाउँमै रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरिएको छ।
“डाँडापारीका युवा विदेशिनु बाध्यता होइन, अवसर गाउँमै सिर्जना गर्न सकिन्छ,” उहाँले जोड दिनुभयो।
आधारभूत सेवामा प्राथमिकता
शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार
लामाले शिक्षा र स्वास्थ्य क्षेत्रको स्तरोन्नति, सुरक्षित खानेपानी तथा सडक सञ्जाल विस्तारलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ। स्थानीय विद्यालयमा प्राविधिक शिक्षा विस्तार र स्वास्थ्य चौकीलाई सुदृढ बनाउने योजना पनि उहाँले सार्वजनिक गर्नुभयो ।
पूर्वाधार विकाससँगै कृषि उत्पादनलाई बजारसँग जोड्ने सडक सञ्जाल निर्माण गरिने उहाँको भनाइ छ ।
घरदैलो क्रममा स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै लामाले विकास योजनामा जनसहभागिता अपरिहार्य रहेको उल्लेख गर्नुभयो। “परियोजना सफल बनाउन जनताको साथ र विश्वास आवश्यक छ,” उहाँले भन्नुभयो ।
समृद्ध तेमालको परिकल्पना
काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक विविधताको संगमस्थलका रूपमा परिचित छ। हरियाली डाँडाकाँडा, प्राचीन गुम्बा, ऐतिहासिक स्थल र यहाँ फल्ने विशिष्ट ‘बुद्धचित्त’ माला तेमालको पहिचान मात्र होइन, सम्भावित समृद्धिको बलियो आधार पनि मानिन्छ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ बाट उम्मेदवार बन्नुभएका अमित लामाले तेमालको यही सम्भावनालाई राजनीतिक प्रतिबद्धतासँग जोड्नुभएको छ। उहाँले बुद्धचित्त मालाको उत्पादन, सुरक्षा र व्यवस्थित बजारीकरणलाई आफ्नो पहिलो प्राथमिकता बनाउने उद्घोष गर्नुभएको छ।
किसानको पीडा, उम्मेदवारको प्रतिबद्धता
तेमाल क्षेत्रमा घरदैलो अभियानमा रहनुभएका लामाले स्थानीय किसानसँगको भेटघाटमा बुद्धचित्त उत्पादनपछि बजारसम्म पु¥याउने क्रममा भोग्नुपरेका समस्या नजिकबाट सुनेको बताउनुभयो।
“यहाँका किसानले दुःख गरेर उत्पादन गरेको मालालाई उचित मूल्यमा बेच्न पाउनु चुनौतीपूर्ण छ। ढुवानी, सुरक्षा र मूल्य निर्धारणमा देखिएका समस्या समाधान गर्नु राज्यको दायित्व हो,” उहाँले भन्नुभयो, “यदि जनताले विश्वास गरेर जिताउनुभयो भने सदन र सरकारमा गएर बुद्धचित्तको विश्वबजारमा ब्रान्डिङका लागि म लड्नेछु।”
उहाँले किसानलाई निर्धक्क भएर खेती विस्तार गर्न आग्रह गर्दै उत्पादनको सुरक्षादेखि बजार सुनिश्चिततासम्मको ग्यारेन्टी लिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
‘बुद्धचित्त’ ः आस्था र अर्थतन्त्रको सेतु
बौद्ध धार्मिक परम्परामा विशेष महत्व राख्ने बुद्धचित्त माला तेमालको विशिष्ट उत्पादन हो। धार्मिक आस्था, ध्यान–साधना र सांस्कृतिक मूल्यसँग जोडिएको यस मालालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सकिए स्थानीय अर्थतन्त्रमा उल्लेख्य परिवर्तन सम्भव हुने जानकारहरू बताउँछन्।

लामाका अनुसार बुद्धचित्तलाई केवल धार्मिक वस्तुका रूपमा मात्र होइन, तेमालको ‘ब्रान्ड’का रूपमा विकास गर्न आवश्यक छ। “तेमाललाई संसारले चिन्ने आधार नै बुद्धचित्त बन्न सक्छ,” उहाँले स्पष्ट पार्नुभयो।
पर्यटन विकाससँग समन्वय
तेमाल क्षेत्र गुरु रेम्पोछेको पवित्र तपोभूमि तोङसोम कुँडाक, ऐतिहासिक ६ घ्याङ, ह्रेञ्जेन दोर्जे राजासँग सम्बन्धित स्थलहरूजस्ता सम्पदाले समृद्ध छ। यी स्थलहरूको उत्खनन, संरक्षण र प्रवद्र्धनमार्फत धार्मिक तथा सांस्कृतिक पर्यटन विस्तार गर्न सकिने उहाँको धारणा छ।
बहुसांस्कृतिक संग्रहालय स्थापना, पूर्वाधार सुधार र आन्तरिक–बाह्य पर्यटक आकर्षित गर्ने कार्यक्रममार्फत तेमालको आर्थिक मेरुदण्ड बलियो बनाउन सकिने उहाँले उल्लेख गर्नुभयो।
समृद्ध तेमालको परिकल्पना
डाँडापारिको कफीको बजारीकरणलाई अघि सार्दै आएका लामाले तेमालको बुद्धचित्त उत्पादनलाई पनि त्यस्तै प्राथमिकतामा राखेर दीर्घकालीन योजना बनाउने बताउनुभएको छ। कृषि, संस्कृति र पर्यटनलाई एकीकृत गर्दै आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माण गर्ने उहाँको लक्ष्य छ।
स्थानीयवासीले पनि तेमालको सम्भावनालाई मूर्त रूप दिन सक्ने नेतृत्वको अपेक्षा गर्दै उम्मेदवारको प्रतिबद्धतालाई सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन्।
तेमालको पहिचानसँग गाँसिएको बुद्धचित्त अब केवल धार्मिक आस्थाको प्रतीकमा सीमित नहोस्, बरु आर्थिक समृद्धिको आधार बनोस् भन्ने आशासहित उम्मेदवार लामाले अघि सारेको योजना चुनावी अभियानको प्रमुख एजेण्डा बनेको छ।

तपाईको प्रतिक्रिया