
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार भेटवार्ता गर्नुभएको छ ।
बिहान ११ बजे सुरु भएको भेटवार्ता तीनघन्टासम्म चलेको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्तामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र,निश्पक्ष र भयरहित बनाउने दिशामा केन्द्रीत रहेको थियो ।
प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचनमा सुरक्षा व्यवस्था प्रभावकारी हुने, त्यसको लागि राज्यको संयन्त्रले तयारी गरिरहेको अध्यक्ष ओलीलाई विश्वास दिलाउनुभयो । उहाँले नेकपा एमाले लगायत सबै दललाई निर्वाचनलाई सफल बनाउन भुमिका खेल्नु हुन अनुरोध गर्नुभएको रावलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच फागुन २१ गतेको निर्वाचनलाई भयरहित र निश्पक्ष ढङ्गले सम्पन्न गराउने विषयमा छलफल भएको थियो । अध्यक्ष ओलीले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निश्पक्ष ढङ्गले सम्पन्न गराउन सुरक्षा व्यवस्थाबारे चासो राख्नुभएको प्रेस संयोजक रावलले जानकारी दिनुभयो ।
अध्यक्ष ओली प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यको साथमा बालुवाटार पुग्नुभएको थियो । उहाँले पार्टीका अन्य नेताहरुलाई साथमा लग्नुभएको थिएन । भेटवार्ता निर्वाचन सम्पन्न गराउनमै केन्द्रित भएको भए पनि वर्तमान राजनीतिक विषयमा समेत सामान्य छलफल भएको रावलको भनाइ छ ।
प्रधानमन्त्री कार्की र एमाले अध्यक्षबीच भेटवार्ता
2026-01-08T19:20:54+05:45

तपाईको प्रतिक्रिया