एमालेमा ५५ प्रतिशत नयाँ अनुहार

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नयाँ उम्मेदवारलाई पहिलो प्राथमिकतामा राखेको छ । १६५ वटा नै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको एमालेले सिङ्गो उम्मेदवार संख्यामध्ये ५४.५४ प्रतिशत नयाँ अनुहारलाई अवसर प्रदान गरेको एमालेका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले उल्लेख गर्नुभयो ।
सबैभन्दा धेरै नयाँ अनुहार कर्णाली प्रदेशमा ७५ प्रतिशत रहेको एमालेले उल्लेख गरेको छ । मधेश र सुदुरपश्चिममा ५०÷५० प्रतिशत र कोशीमा ५३.५७ प्रतिशत नयाँ अनुहारलाई टिकट प्रदान गरेको हो । सबैभन्दा कम लुम्बिनी प्रदेशमा ४२.३० र बागमतीमा ६०.६० र गण्डकीमा ६१.११ प्रतिशत नयाँ अनुहारले टिकट पाउनुभएको हो ।
एमालेले यो निर्वाचन मार्फत लोकतन्त्रको पुनः स्थापना गर्ने एजेण्डा अघि सारेको जनाएको छ । निर्वाचनलाई हराएका र भत्किएका सपनाहरुलाई फेरि जगाउँदै नयाँ पुस्ताको सुन्दर भविष्य निर्माण गर्ने निर्णायक मोडका रुपमा लिन्ुका साथै संविधान र लोकतन्त्रको पक्षमा प्रतिगमनविरुद्धको जनमत संग्रहका रुपमा लिएको एमालेले उल्लेख गरेको छ ।
यो सन्देशको रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराउनुअघि जेनजी आन्दोलनका क्रममा भत्किएका झापाका व्यक्तिगत तथा सरकारी संरचनाको निरीक्षण तथा पिडितहरुका लागि भेट गर्नुभएको छ । उहाँले झापा क्षेत्र नं ५ बाट उम्मेदवारी दिनुभएको छ ।
आगामी निर्वाचनमा एमाले उपाध्यक्षहरु गोकर्ण विष्ट गुल्मी क्षेत्र नं २, पृथ्वीसुब्बा गुरुङ लमजुङ र विष्णुप्रसाद पौडेल रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट मनोनयन दर्ता गर्नुभयो । महासचिव शंकर पोखरेल दाङ निर्वाचन क्षेत्र नं २ मा मनोनयन दर्ता गर्नुभयो ।
उपमहासचिवहरु लेखराज भट्ट कैलाली क्षेत्र नं ४ र रघुवीर महासेठ धनुषा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्नुभयो ।
सचिवहरु भानुभक्त ढकाल तेह्रथुम, शेरधन राई भोजपुर, डा. राजन भट्टराई काठमाडौँ क्षेत्र नं ४ र महेश बस्नेतले भक्तपुर क्षेत्र नं २ बाट मनोनयन दर्ता गर्नुभयो । एमाले नेता ईश्वर पोखरेल काठमाडौं क्षेत्र नं ५ बाट मनोनयन दर्ता गर्नुभयो ।
एमालेका उपाध्यक्ष एवं आसन्न प्रतिनिधिसभाको निर्वाचनका प्रमुख रामबहादुर थापाले आगामी निर्वाचनलाई असाधारण परिस्थितिमा हुन गइरहेको जनमत सग्रहका रुपमा बुझ्नुपर्ने बताउनुभयो । उहाँले असंवैधानिक र अलोकतान्त्रिक ढङ्गबाट प्रतिनिधिसभा विघटन भएको भन्नुहुँदै एमालेले लोकतन्त्र पुनस्र्थापनाका लागि निर्वाचनमा सहभागी हुने निष्कर्श निकालेको बताउनुभयो । उहाँले यससँगै लोकतन्त्रको पुनःस्थापना गर्न, राष्ट्रिय स्वाधिनताको रक्षा गर्न, देशमा स्थायित्व कायम तथा शान्ति, सुरक्षाको प्रत्याभूति गराउन एमालेले निर्वाचनमा सहभागी भएको उल्लेख गर्नुभयो । उहाँले एमालेले निर्वाचनको घोषणापत्र तयार गरिरहेको र एमालेको नेतृत्वमा लोकतान्त्रिक दलहरुबीच सहकार्य हुन सक्ने संकेत गर्नुभयो । उहाँले निर्वाचनपछि संविधान संसोधन, शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार ल्याउन एमालेको नेतृत्व आवश्यक भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया