विद्यासागरले पुरा गर्याे ३३ बर्षको ऐतिहासिक यात्रा

बनेपा÷विद्यासागर अङ्ग्रेजी माध्यामिक विद्यालय बनेपा–११ काभ्रेपलाञ्चोकको ३३ औं स्थापना दिवसको अवसरमा पुस्तक समीक्षा तथा साहित्यिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । काभ्रेपलाञ्चोक जिल्लाकै नमूना संस्थागत विद्यालयको रुपमा स्थापित विद्यासागरले ३३ बर्षमा हासिल गरेका उपलब्धि निक्कै महत्वपुर्ण छन् ।

शिक्षाको गुणस्तर, अनुशासन, सिर्जनशीलता र नैतिक मूल्यहरूको स्थापना गर्दै विद्यालयले विगत ३३ वर्षयता उत्कृष्ट शैक्षिक योगदान प्रदान गर्दै आइरहेको शिक्षा क्षेत्रमा सकृय व्यक्तित्वहरुले विश्लेषण गर्नुभयो ।
विद्यालयका प्रिन्सिपल हिरा शर्मा नेपालले समर्पित शिक्षक–कर्मचारीको निरन्तर प्रयास, अभिभावकहरूको विश्वास, विद्यार्थीहरूको लगन तथा विद्यालय परिवारको सामूहिक सहयोगले विद्यासागरले ३३ बर्षको यात्रा पुरा गरेको उल्लेख गर्नुभयो ।
उहाँले विद्यालय स्थापना दिवसले सबैमा नयाँ उत्साह, सकारात्मक ऊर्जा र अझ प्रभावकारी शैक्षिक गतिविधिहरू अघि बढाउने प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रिन्सिपल नेपालले आगामी दिनहरूमा विद्यालयले अझ राम्रो उपलब्धि हासिल गर्दै देश–समाजका लागि सक्षम, सचेत र उत्तरदायी नागरिक उत्पादन गर्न भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्थापना दिवसको अवसरमा आयोजित पुस्तक समीक्षा तथा साहित्यिक अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार मोहन दुवालले विगत केही बर्षदेखि पुस्तक पठनशैलीको विकासमा विद्यासागरले खेलेको भुमिका महत्वपुर्ण रहेको उल्लेख गर्नुभयो ।


‘हरेक विद्यार्थीले पुस्तक लिएर गएर पढ्ने र सृजनात्मक हुने बिषय सामान्य हैन’ उहाँले थप्नुभयो, ‘ विद्यार्थीले पुस्तकबाट सिकेका कुरा र अभिभावकको समेत सुझावलाई समेट्ने प्रयास गरेर विद्यासागरले नयाँ बिषयको थालनी गरेको छ ।’
साहित्यकार हरिहर तिमल्सिनाले आयोजित पुस्तक समीक्षा तथा साहित्यिक अन्तरक्रिया आफैंमा ऐतिहासिक भएको बताउनुभयो । विद्यार्थी र शिक्षकमा पढ्ने बानी विकास गराउन पुस्तक समीक्षाले महत्वपुर्ण भुमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
साहित्यकार सूर्यप्रसाद लाकोजुले पुस्तक पढ्ने बानीको विकास गर्नु र त्यसको समीक्षा हुने प्रगतिशील कार्य भएको भन्दै प्रशंसा गर्नुभयो । विद्यासागर स्कुलका नेपाली बिषयका संयोजक बल्लभ नेपालले बरिष्ठ साहित्यकारको उपस्थितीमा विद्यार्थीले पुस्तक समीक्षा र साहित्यिक अन्तरकृया गरेर आफूलाई अब्बल र फरक रहेको प्रमाणित गरेको बताउनुभयो । कार्यक्रममा सहभागी भएर विद्यार्थीहरूका लागि मार्गदर्शन र उत्साह भरिदिएको भन्दै शिक्षक नेपालले आभार व्यक्त गर्नुभयो ।

विद्यार्थीहरु रिजना काफ्ले र सक्षम पौडलले सहजीकरण गर्नुभएको कार्यक्रममा विद्यार्थीहरु संरचना नेपाल, स्वपनीला घिमिरे, प्रयासना मानन्धर, समृद्धि दाहाल, कुञ्जन घिमिरे,प्रनिश श्रेष्ठ, सियना मानन्धर, आरुष न्यौपाने, युनिका बजगाईले पुस्तक समीक्षा गर्नुभयो ।
त्यस्तै, नितिसा गोयन्का, निर्जल पराजुली, भिजन तामाङ र प्रशिद्ध तिमल्सिनाले आफ्नो लेख रचना वाचन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया