
काठमाडौं। वरिष्ठ समालोचक तथा निबन्धकार प्रा.डा.लक्ष्मणप्रसाद गौतमको निबन्धकृति ‘समवेत’को लोकार्पण भएको छ ।
राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार पवन आलोक,समालोचक प्रा.डा.ज्ञानु पाण्डे,वरिष्ठ समालोचक प्रमोद प्रधान ,वरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ र प्रा.डा.गौतम लगायतले उक्त कृतिको लोकार्पण गरे ।
कृतिबारे समीक्षात्मक मन्तव्य व्यक्त गर्दै प्रधानले २१ वटा निबन्धहरुमा कवित्व चेत प्रखर बनेर आएको बताए । उनले पुस्तकप्रेमलाई मान्छेसँग तुलना गरी जीवनलाई गहिरिएर अध्ययनद्धारा निबन्ध लेखनी भएको बताए ।
उनले भने- ‘गौतमका निबन्धहरु पाठक र लेखकबीचको सम्बन्धलाई निकट बनाउने गरी लेखिएको छ । निबन्धहरुमा सम्बोधन शैलीको प्रयोग भएको छ ।’
अर्की समीक्षक प्रा.डा.पाण्डेले समवेत धेरै थरी रंगको विचारको एकिकृत आवाज भएको बताइन। उनले भनिन – ‘मान्छे धेरै पत्र बाँचेको प्राणी हो भन्ने कुरालाई निबन्धहरुले वताउँछन् ।समाजको आँखामा राम्रो देखिन मान्छे आफैंलाई ढाँट्छ भन्ने मानवीय प्रवृत्तिलाई प्रायःनिबन्धले जोडेका छन् ।’
‘मान्छेलाई इमान्दार बन्न सुझाएका गौतमका निबन्धहरु विषयगत विविधतामा आएका छन् । निबन्धमा प्रकृतिसँग सम्बाद गरिएको छ।असल मान्छेको खोजी गरिएको छ।’ प्रा.डा.पाण्डेले बताइन ।
विचारप्रधान निबन्धहरु सरस रहेकोमा उनको जोड थियो ।
समवेतका स्रष्टा प्रा.डा.गौतमले निबन्धमा आफैंलाई लेखेको बताए । आफुलाई समालोचना गर्न भीडमा पनि सजिलो हुने तर निबन्ध सृजना गर्न गाह्रो हुने बताए ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले निबन्धकार हुनु गाह्रो कार्य भएको बताउँदै आत्मपरक निबन्धमा गौतमको गौरव गर्न लायक कृति आएको बताए ।
नेपाल स्रष्टा समाज,केन्द्रीय समितिको आयोजनामा भएको उक्त लोकार्पण कार्यक्रममा वरिष्ठ साहित्यकार एवं समाजका संरक्षक पवन आलोकले शुभकामना मन्तब्य व्यक्त गरे ।कार्यक्रमको सञ्चालन सदस्य मधु पाठकले गरेका थिए भने स्वागत सचिव प्रकाश घायलले गरेका थिए ।

तपाईको प्रतिक्रिया