विन्ध्यवासिनी आध्यात्मिक प्रतिष्ठान श्रीखण्डपुरमा चैत्र ८ देखि भागवत नवाह ज्ञानमहायज्ञ

श्रीखण्डपुर– विन्ध्यवासिनी आध्यात्मिक प्रतिष्ठान श्रीखण्डपुरमा चैत्र ८ देखि भागवत नवाह ज्ञानमहायज्ञ हुने भएको छ । लोक कल्याणका लागि श्री देवी भागवत नवाह ज्ञानमहायज्ञ आयोजना हुने आयोजकले बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

प्रतिष्ठानका गुरुयोजना अनुसार २०७६ र ७७.मा खरिद गरिएको करिव १ रोपनी जग्गामा विन्ध्यवासिनी मंगलाशैनी मन्दिर, यज्ञ मण्डप निर्माण, गुरुकुल सञ्चालनका साथै भवन र छात्रावास निर्माण, बहु–उद्देश्यीय योग साधना सामुदायिक भवन, सन्त निवास आदि निर्माण हुने योजना अनुसार केही कार्यहरु सम्पन्न भएका छन् भने केही कार्यहरु सुरु हुँदै रहेका जनाएको छ । प्रतिष्ठान स्थापनाको दोस्रो वार्षिकोत्सवको अवसर पारेर अनन्त विभूषित श्रोत्रिय, ब्रह्मनिष्ठ स्वामी श्री निःशेषानन्दजी महाराजको सत् संकल्पसहितको आशीष वचनलाई पूर्ण गर्नको लागि विन्ध्यबासिनी मन्दिरमा यहि चैत्र ८ देखि १७ गतेसम्म श्रीमद् देवी भागवत नवाह ज्ञानमहायज्ञ आयोजना गरिएको छ । यसका निम्ति २०७९ फाल्गुन १६ गतेको प्रतिष्ठानको बैठकले धर्मानुरागी श्री कृष्णप्रसाद तिमल्सिनाको संयोजकत्वमा ५१ सदस्यीय ज्ञानमहायज्ञ मूल आयोजक समिति गठन गरिएको थियो । नौ दिनसम्म सञ्चालन हुने ज्ञानमहायज्ञमा वैदिक विधिअनुसार रूद्राभिषेक, श्रीमद् देवी भागवत् पाठ पारायण, प्रवचन, वेद पाठ, चण्डी पाठ, ग्रहशान्ति, गायत्री होम, लक्ष दीप प्रज्ज्वलन, तुलादान, भूमिदान, अन्नदान र शहिद उद्धारका निमित्त होम, पितृ उद्धारका निमित्त विशेष अनुष्ठान लगायतका विभिन्न अनुष्ठानहरु सम्पन्न गरिने छ ।
महायज्ञको शुभारम्भका अवसरमा मन्दिर परिसरबाट बाजागाजा र १०८ कलशसहित शोभायात्रा प्रारम्भ हुनेछ । अनन्त विभूषित श्रोत्रिय, ब्रह्मनिष्ठ स्वामी श्री निशेषानन्द जीको सत् संकल्पले भागवत परिकर नारायण सञ्जेलज्यूबाट सङ्गीतमय श्रीमद् देवी भागवत नवाह ज्ञानमहायज्ञ कथा वाचन, भजन र कीर्तन हुनेछन्् । कलाकारहरुबाट श्रीमद् देवी भागवत कथामा आधारित आकर्षक झाँकीहरु प्रदर्शन हुनेछन् र अन्य विशिष्ट सन्त महात्मा एवं विद्वानहरुबाट अतिथि प्रवचनहरु हुनेछ ।

ज्ञानमहायज्ञका अवसरमा कथा वाचन तथा विद्वतवर्गका प्रवचनका माध्यमबाट वैदिक सनातन धर्मसंस्कृतिको रक्षा, आध्यात्मिक जागरण एवं संस्कृत शिक्षाको प्रचारका साथै विश्वशान्ति, मानवकल्याण एवं धार्मिक, आध्यात्मिक चेतनाको विकास गरी समाजलाई नैतिक एवं अनुशासित बनाउनु यस ज्ञानमहायज्ञको प्रमुख उद्देश्य रहेको छ । यही अवसरमा अनन्त विभूषित श्रोत्रिय, ब्रह्मनिष्ठ स्वामी श्री निःशेषानन्दजी महाराजबाट नेपाली भाषामा लिखित श्रीमद्भागवत दिग्दर्शन पुस्तक गत वर्ष नै यस विन्ध्यवासिनी आध्यात्मिक प्रतिष्ठानबाट प्रकाशन गरिएको स्मरण गराउदै प्राप्त गर्न चाहने इच्छुकहरुलाई समूल्य वितरण गरिने कार्यक्रम रहेको छ । प्रतिष्ठानका लागि श्रीखण्डपुरमा खरिद गरिएको करिव १ रोपनी जग्गामा विन्ध्यवासिनी मंगलाशैनी मन्दिर, यज्ञ मण्डप निर्माण, गुरुकुल सञ्चालनका साथै भवन र छात्रावास निर्माण, बहु–उद्देश्यीय योग साधना सामुदायिक भवन, सन्त निवास आदि निर्माण कार्यमा महायज्ञबाट आर्थिक सहयोगमा टेवा जनाएको छ ।
महायज्ञ सम्पन्न गरिसकेपछि बचेको यज्ञशेषबाट विन्ध्यावासिनी मंगलशैनी मन्दिर निर्माण गर्दा भएको सम्पूर्ण हिसाबहरुलाई मिलान गर्ने र विन्ध्यावासिनी गुरुकुल सञ्चालनका लागि भवन र छात्रावास निर्माण, बहुद्देश्यीय सामुदायिक भवन, सत्सङ्ग भवन, सन्त निवासआदि निर्माण कार्यहरु सम्पन्न भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया