अनाथ बालबालिकालाई साक्षी राखेर बिहे

बनेपा÷मठमन्दिर, अदालत वा राजनीतिक दलको झण्डामुनि बसेर प्रगतिशील बिहे हुने गरेका घटना नौलो होइन । तर सोमबार एक जोडीले परिवारको उपस्थितिमा बालबालिकालाई साक्षी राखेर बिहे गरेका छन् ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं। ३ का हितशङ्कर कुलुङ र काठमाडौँ चन्द्रागिरि नगरपालिका–१२ की रश्मी खड्गीले अनाथ बालबालिकालाई साक्षी राखेर नखावा–सुर ९बिहे० गर्नुभएको छ । सीमित आफन्तको उपस्थितिमा किराँत विधिअनुसार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नं। ९ धाइटारमा रहेको सेवक नेपालको बाल आश्रमका बालबालिकालाई साक्षी राखेर उहाँहरुले बिहे गर्नुभएको हो ।

सुरुमा बिहे गर्नेबारे बालआश्रमलाई समेत खबर गरिएको थिएन । सार्वजनिक बिदाको दिन भएकाले सोमबार बालबालिका आश्रममै हुनुहुन्थ्यो । आश्रमका सञ्चालक बुद्ध गौतमलाई फोन गरेर आश्रममा सानो कार्यक्रम गर्नेबारे खबर गरियो । आश्रम सञ्चालक गौतमले आकस्मिक रूपमा जोडी आएर बिहे गरेको जानकारी दिनुभयो । साँचो भगवानका रुपमा रहेका असहाय बालबालिकालाई साक्षी राखेर खाएको कसम कुनै मठमन्दिर गएर खाएको भन्दा कम्तिको नहुने भएकाले बाल आश्रममा आएर बिहे गरेको नव दम्पतीले बताउनुभयो ।

बेहुला कुलुङले बिहे भनेको समझदारी हो भन्दै बाल आश्रममा गएर बिहे गर्ने निर्णयप्रति अभिभावक निकै खुसी हुनुभएको सुनाउनुभयो । “बेहुलीका परिवारले पनि खुुसी भएर बिहे गर्न स्वीकृति दिनुभयो । त्यसपछि हामी आश्रममा पुगेर बिहे ग¥यौँ” उहाँले भन्नुभयो ।

विवाह समारोहमा आश्रमका १५ जना बालबालिका, दुलहा पक्षबाट ११ जना, दुलही पक्षबाट तीन जना र आश्रम सञ्चालक पाँच जना सहभागी हुनुहुन्थ्यो । सबैका लागि भोजनको व्यवस्था दुलहा पक्षले नै गरेको थियो ।

बालबालिकालाई साक्षी राखेर गरिएको विवाहपछि सामाजिक उत्तरदायित्व बहन गर्न आफूलाई झन हौसला मिलेको बेहुली रश्मी खड्गीले बताउनुभयो । उहाँले आफ्नो बिहे यसरी होला भन्ने कल्पनासम्म नगरेको तर फरक किसिमले गरौँ भन्ने दुलहा पक्षको प्रस्तावले हौसला मिलेको बताउनुभयो । “बालबालिकालाई साक्षी राखेर बिहे गर्न पाउनु पनि सौभाग्य हो” उहाँले भन्नुभयो ।

सेवक नेपालका अभियन्ता देवेन्द्र सापकोटाले जीवनमै फरक किसिमको अनुभव हासिल गरेको बताउँदै दम्पत्तीले उदाहरणीय कामको सुरुवात गरेको बताउनुभयो । विवाहबन्धनमा बाँधिएसँगै दम्पत्तीका आफन्तले खुसीयालीमा आश्रमलाई नगद तथा जिन्सी सहयोगसमेत गर्नुभयो । बेहुलाबेहुलीको तर्फबाट १० हजार रुपियाँका साथ २० हजार रुपियाँभन्दा बढीको खाद्यान्न, पाँच हजार रुपियाँ बराबरको स्टेशनरी र उपस्थित सबैलाई भोज खुवाइयो ।

सेवक नेपालले केही वर्षयता अनाथ बालबालिकाको लागि शिक्षा र आवासको व्यवस्थापन गर्दै आएको छ । विदेशमा बस्ने श्रमिक नेपालीले थोरै पुँजी सङ्कलन गरेर सुरु गरेको अभियानमा हाल २५० जना अभियन्ता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया