बागमती प्रदेश उपसभामुखमा चापागाईं निर्वाचित - Kavre Headline : No.1 News Portal from Kavre

बागमती प्रदेश उपसभामुखमा चापागाईं निर्वाचित


हेटौंडा – बागमती प्रदेशको उपसभामुखमा नेकपा एमालेकी उम्मेदवार अप्सरा चापागाईं निर्वाचित भएकी छन् ।
प्रदेशसभामा सोमबार सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनबाट एमालेकी उम्मेदवार चापागाईं उपसभामुख निर्वाचित भएकी हुन् । उनले ६१ मत प्राप्त गरेको प्रदेशसभा सभामुख भुवन पाठकले जानकारी दिए । उनले एमालेको २७, माओवादीको २१, राप्रपाको १२ र हाम्रो नेपाली पार्टीको २ मत प्राप्त गरेकी हुन् ।
उपसभामुख चयनका लागि प्रदेशसभा बैठकमा भएको मतदानमा चापागार्इंको विपक्षमा ३९ मत परेको थियो भने ७ जना प्रदेश सदस्य तटस्थ बसेका थिए । उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीका सांसद्समेतको मत प्राप्त गरिन् । चापागाईंलाई माओवादी सांसद् कुमारी मोक्तान प्रस्तावक तथा आशा लामा समर्थक थिए ।
प्रदेशको उपसभामुख उम्मेदवार गीता काफ्लेले ३ मत पाएकी थिइन् । उनको विपक्षमा ६१ सांसद्ले मतदान गरे भने र तटस्थमा ४४ सांसद् रहे । उनको प्रस्तावकमा सुरेन्द्रराज गोसाईं र समर्थकमा सृजना सैंजु थिए । मतदानका क्रममा १ सय ८ सांसद् उपस्थित थिए । नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सुना परियारको भने निर्वाचन भएन । उपसभामुखमा सत्ता गठबन्धनबाट एमालेकी चापागाईं, नेपाली कांग्रेसकी परियार र नेपाल मजदुर किसान पार्टीकी काफ्लेले मनोनयन दर्ता गराएका थिए । निर्वाचित चापागाईं ललितपुरबाट समानुपातिकमा निर्वाचित भएकी हुन् । उपसभामुखमा निर्वाचित उनले आफूले पाएको मतको कदर गर्ने बताइन् । नवनिर्वाचित उपसभामुख चापागाईंको सपथ मंगलबार हुने प्रदेशसभा सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया