
अचेल म तिमिलाई धेरै बेर सम्झन्छु
मान्छे बोक्ने बडेमानको आकाशसे जहाज
आकासकै बाटो भएर पुर्वी पहाड छेलिदै गर्दा ,
शहरमा जिन्दावाद र मुर्दाबादको नारा लगाउने मौसमि जागिरको भ्याकेन्सि फाट्टफुट्ट खुल्दै गर्दा ,
चुनाब गाउँ सम्म आउदा
भोट सदरमुकाम सम्म उक्लिदा
प्रीय योद्धा म तिमिलाई धेरै बेर सम्झन्छु ।
एक फ्वाँक पाइलट चुरोटको धुँवा
फुस्स आकासतिर उडाउदै भन्थ्यौ
” छोड्नै सकेन यार “
एक डब्को छिप्पेको जाँड स्वाट्ट पार्दै भन्थ्यौ
” अहो क्या चिज छ “
एक घान करेन्ट तल्लो ओठमा च्य्याप्प चाप्दै थुक्थ्यौ
” भुइँमा पिच्च “
र भन्थ्यौ टेन्सन छ यार !
अनि आँखा रिम रिम पार्दै सुनाउथ्यौ
छोड्नै नसकेको तितो कहानीहरु
चुरोटको लत
जाँडको तिर्खा
करेन्टको कर्कश स्वाद
पोहोर सालमात्रै पोइला हिडेकि सम्धिनिको बाटुलो आँखा ।
सिरानी मुनि खाँदेर राखेको रातो झन्डा
प्रीय योद्धा ,
चुरोटको लत
जाँडको तिर्खा
करेन्टको कर्कश स्वाद
सम्धिनिको सम्झनाको अमिलो गन्ध
सिरानुमुनिको रातो झन्डा भन्दा छोड्न सजिलो त यो देशको माटो रहेछ ।
जो तिमिले चटक्कै छोडेर पर्देशियौ ।
– अर्पण उत्कर्ष, २०७९ पौष २४
तपाईको प्रतिक्रिया