बैतडीमा शिक्षक मृत्यु प्रकरण: बिहानै देखि दशरथचन्द राजमार्ग ठप्प, नगरपालिकामा तालाबन्दी - Kavre Headline : No.1 News Portal from Kavre

बैतडीमा शिक्षक मृत्यु प्रकरण: बिहानै देखि दशरथचन्द राजमार्ग ठप्प, नगरपालिकामा तालाबन्दी



बैतडीको पाटन नगरपालिकामा तालाबन्दी गरिएको छ । कृष्ण माध्यामिक विद्यालय अध्यापन गराउदै आएका शिक्षक धनबहादुर बिष्ट प्रकरणको सत्यतथ्य छानबिनको माग गर्दै आज नगरपालिकाको कार्यालयमा संघर्ष समितीले तालाबन्दी गरेको हो । 
स्थानीय सरकारले पिडीतलाई न्याय दिनका लागि सहयोग गर्नुपर्नेमा दबाब दिन नगरपालिकामा तालाबन्दी गरिएको संघर्ष समितीका संयोजक एवं शिक्षक बिष्टका आफन्त लीला बिष्टले बताइन । 
‘स्थानीय सरकारले पिडीतको  पक्षमा बोल्नुपर्ने हो , मौन छ त्यसकारण न्यायी प्राप्तीका लागि दबाव दिनका लागि तालाबन्दी गरिएको’ संयोजक बिष्टले भनिन् ‘अब पनि मौन बसे आन्दोलनका कार्यक्रम सशक्त बन्छन्। ’
संघर्ष समितीले आज बिहानै देखी दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन्। शिक्षक बिष्टको मृत्यु शंकास्पद रहेकाले दोषीले चाडौ भन्दा चाडो पत्ता लगाउन माग राख्दै दशरथचन्द राजमार्ग अवरुद्ध पारेको संघर्ष समितीले जनाएको छ । यस्तै नगरक्षेत्रभित्रका बजार र विद्यालय पनि बन्द रहेका छन् ।
यही पौष २ गते शनिबार पाटनमा मृत फेला परेका शिक्षक बिष्टको हत्या भएको परिवारजनले आशंका गरेका छन् । पौष १ गते एकजना शिक्षकको स्वागत भोजमा सरीक भएका शिक्षक भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए । सुर्नया गाउँपालिका २ ग्वानी घर भएका शिक्षक बिष्ट कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका थिए ।  आफन्तले मृत्यु नभइ हत्या भएको भन्दै शव बुझेका छैनन् । 
प्रहरीले घटनाको सुक्ष्म तरीकाले अनुसन्धान भैरहेको जनाएको छ  ।  मंगलबार देखी सिआइवीको टोलीले घटनाको अनुसन्धान गरीरहेको छ । ४ जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर सोधपुछ कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमीत्त प्रमुख प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया