स्थानीय सरकारको विकृति विसङ्गति चित्रण गर्ने कार्टुन प्रदर्शन (तस्बिर सहित)

काठमाडौँ, मङ्सिर २६ 

विकेन्द्रिकरणको सन्देश बोकेको परेका जसले उडाउदै छ उसैले परेवालाई डोरीमा बाँधिरहेको छ । पालिका सरकारलाई लिखतमा भए पनि व्यवहारमा फरक व्यवहार गरिरहेको सङ्घीय सरकारको रवैया प्रतिको कटाक्ष अविन श्रेष्ठको यस कार्टुनमा रहेको छ । स्थानीय सरकारले पुरापुर कार्यभार पाएको छ तर स्रोतको कमीले सामान जोख्ने भाडो पुरै कार्यभार तर्फ झुकेको छ । कार्यभार र स्रोतको सन्तुनल मिल्न नसकेको अवस्था प्रति कार्टुनिष्ट कासु क्षितिजको यो व्यङ्ग्य हो । त्यस्ता अनेकौ कार्टुनहरु जुन स्थानीय सरकारले गर्नुपर्ने काम र काम गर्ने दौरानमा भए गरेका विकृति विसङ्गतिमा केन्द्रित रहेर तयार पारिएका छन् यसको प्रदर्शनी गरिएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घको तेस्रो महाधिवेशनको अवसर पारेर ‘रङ्गपालिका’ शीर्षकमा उक्त प्रदर्शनी गरिएको हो ।

कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको महाधिवेशनमा दुई दर्जन कार्टुनिस्टले बनाएका ५० कलाकृति राखिएको छ । महासङ्घले कार्टुनिस्ट क्लब अफ नेपालको सहकार्यमा गरेको प्रदर्शनीमा गाउँपालिकाले गर्नुपर्ने कार्ययोजना, विकास निर्माणसँगै त्यहाँ रहेका विकृति विसङ्गतिलाई चित्रण गरिएका चित्र तथा कार्टुन राखिएको छ । प्रधानमन्त्री देउवाले महासंघको उद्घाटन पछि चाख पुर्वक प्रदर्शनीको अवलोकन गरेका थिए ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले भने, ‘चार सय साठीवटा गाउँपालिकाले गरेका राम्रा काम वा सुधार्नुपर्ने पक्ष मानव जीवनका विविध रङ जस्तै हुन् । त्यसैले त कार्टुन तथा चित्र प्रदर्शनीलाई रङ्गपालिकाको नाम दिइएको हो । यसमा मूलतः स्थानीय सरकारको कार्यक्षेत्रलाई समेटेर कार्टुन तथा चित्रमार्फत सन्देश दिने जमर्को गरिएको छ ।

कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिजले कला दृश्यभाषाको सशक्त माध्यम भएकाले सबै आमजनले सहज ढङ्गले बुझ्न कार्टुन कला प्रभावकारी हुने बताए । उनले महासङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनको अवसर पारेर स्थानीय सरकारका कार्य र उत्तरदायित्व झल्किने कार्टुन तथा चित्रको प्रदर्शनी गरिएको जानकारी दिए । अध्यक्ष क्षितिजले भने, ‘प्रदर्शनीमा राखिएका कलामा स्थानीय सरकारको कार्यक्षेत्रलाई समेटिएको छ । स्थानीय सरकारले कला, संस्कृति, भाषा, लोकजीवन, प्राकृतिक स्रोत, आर्थिक, सामाजिक, पूर्वाधार, वन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा काम गर्ने अधिकार राख्छ । यिनै सेरोफेरोमा रहेर कलाकारले कार्टुन तथा चित्र बनाएका छन् ।’ उनले अखबारका कोलमबाट बाहिर निस्केर प्रदर्शनी हलसम्म आइपुगेको जनाउँदै समाजका विकृति–विसङ्गतिविरुद्ध क्लबले बेलाबखत सार्वजनिक रुपमा दर्शकसम्म आएको बताए । उनले भने, ‘यो केवल विकृति–विसङ्गतिविरुद्धको प्रहार होइन, समाज र राज्यको कलात्मक रुपान्तरणको अभियान पनि हो ।’

ललितकला प्रज्ञा प्रतिष्ठानका वास्तु तथा अन्य सृजनात्मक कला विभाग प्रमुख प्राज्ञ रमेश खनालले कलाकारले देशको देश विकासमा विविध मुद्य्दामा कलाकारले आफ्ना स.ृजना पस्केको बताए । कार्टुन विधाले सधै विकृति विसङ्गति विरुद्ध आवाज उठाउदै आएको पनि उनले थपे ।

यस्तै, भाषा आयोगका सदस्य तथा जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष मातृका पोखरेलले प्रदर्शनीमा राखिएका कार्टुन तथा चित्रले गाउँपालिका निर्माण र विकासमा गर्नुपर्ने विषयलाई सरल ढङ्गले प्रस्तुत गरेको बताए । उनले भने, ‘समाज निर्माणमा संस्कृति क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने पक्षलाई समेत प्रदर्शनीमार्फत उठान गरिएको छ । यो सुन्दर र रुपान्तरणकारी नेपाल निर्माणका लागि महत्वपूर्ण पाटो हो ।’

प्रदर्शनीमा अग्रज कलाकार अशोकमान सिं, जीवन राजोपाध्याय, अविन श्रेष्ठ, वासु क्षितिज, देवेन्द्र थुम्केली, रवि मिश्र, भानु भट्टराई, रविन्द्र मानन्धर, केशव राज खनाल, योगेश खपाङ्गी, आरके थापा, दीपक गौतम, कृष्णगोपाल श्रेष्ठ, सागर शाह, सुजिता महर्जन, सानुराज डङ्गोल, महेश बस्ताकोटी, अर्पिता शाक्य, पल्पसा डङ्गोल,सुदर्शन सिग्देल, पानसिंह तमोर, रामहरि रिमाल लगायतका चित्र तथा कार्टुन राखिएको छ ।

महासंघ देशका ४ सय ६० गाउँपालिकाको छाता सङ्गठन हो । २५ मङ्सिरबाट सुरु भएको तीन दिने महाधिवेशनमा देशभरिका गाउँपालिकाबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष र हरेक जिल्लाबाट एक जना वडाअध्यक्ष वा सदस्य रहने प्रतिनिधिका रुपमा उपस्थित छन् । महाधिवेशनबाट पाँच वर्षका लागि ३७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित हुनेछन् ।

तपाईको प्रतिक्रिया