तारानाथ सापकोटा
– जब म देख्छु वा भेट्छु कतै भीडमा भीम न्यौपानेलाई तब मलाई बादलभित्रबाट एउटा घामले चियाइरहेजस्तो लाग्छ । मनमा एकाएक उज्यालोको मुश्लो छिरेजस्तो । ममताको एक झोका वतासले छोएर गएजस्तो एउटा मीठो अनभुतीले छोएर जान्छ । तिनका पाकेका केश पछाडीबाट एउटा अभिभावकको छायाँले पछ्याइरहेको अनभुती हुन्छ । तिनका चाउरी पर्दै गएको मुहारपछाडीबाट जीवनका सारा खुसीलाई पर सार्दै म र मजस्तै मानिसका लागि लडिरहेको एक अथक योद्धाले हेरिरहेजस्तो लाग्छ । भीम न्यौपानेका आँखाबाट सर्धै जीवनवादी दर्शनले मानिसहरुलाई जीवनको एउटा नयाँ आयाम देखाइरहेका हुन्छन् । तिनको हृदयको बिशालतामा सबै मानिसहरु अटाएका छन् । तिनको सपनाको आयतनमा सारा मानिसका सपनाहरु समेटिएका छन् । तिनको हाँसोमा जीवनको सबैभन्दा चम्किलो गीत हाँसेजस्तो लाग्छ । मान्छे चिन्न थालेदेखि चिनेको त्यो अनुहारमा मैले सधैंभरि समर्पण देखेको छु । सधैंभरि निष्ठा मात्रै देखेको छु । सधैंभरि त्याग मात्रै देखेको छु । सधैंभरि अर्काको निम्ति बाँच्न तयार भएको एउटा मानिस देखेको छु । जन्मेर हुर्केको ठाउँमा तिनले गरेका संघर्ष, वलिदान, त्यागको आकाश फैलिएको मात्रै देखेको छु । उनी सधैंभरि अर्को मानिसको समस्यामा मात्रै बाँचेको देखेको छु । घर परिवार उनको पनि थियो तर पनि आफ्नो लागि भन्दा पनि अरुको लागि दुख भोगेको देखेको छु । समग्रमा मानिसको भीडमा एउटा सच्चा र इमान्दार मानिस हुन भीम न्यौपाने । उज्यालो हराएका मानिसहरुका लागि एउटा घाम हुन् भीम न्यौपाने । हारजीत भन्दा पर एउटा मौन योद्धा हुन भीम न्यौपाने । सहनशीलताको अर्को नाम हो भीम न्यौपाने । दुखका भीमकाय पहाडहरु चढ्दै चढ्दै आएका निखारिएका मानिस हुन उनी । कहिल्यै रोकिन नमान्ने एउटा प्रवाह हुन् उनी । फलामबाट निखारिँदै निखारिँदै गएर सुन बनेजस्तै नम्बरी सुन हुन भीम न्यौपाने । अनगिन्ती पीडाका खाडलहरुबाट उठेर खडा भईरहने एउटा पहाडको नाम हो भीम न्यौपाने ।
सजिलोसँग हिँड्नको लागि एक धर्को बाटो पनि नभएको एउटा कठीन भुगोल सम्झिरहेछु म यतिबेला । सानो छँदा डराउँदै डराउँदै साँघु तरेर विद्यालय जाँदाको क्षण सम्झँदा आत्तिन्छ मन यतिबेला पनि । त्यो उलँदो खोलामाथिको साँघु तर्दा मैले सोचेको थिइन कदापी कुशादेवी कुनै दिन अहिलेको अवस्थामा देखिन्छ भनेर । एउटा बिकट भुगोलभन्दा बढी केही थिएन त्यतिबेला । भुगोललाई जीवनले भरिपुर्ण पार्ने कुनै मानिस थिएन । मानिसहरुलाई डोर्याउने बलिया पाखुरा थिएनन् । मानिसहरुलाई भविष्य देखाउने कुनै दरिलो साथ थिएन । मानिसहरुलाई बलियो बनाउने कुनै सुत्र थिएन । लाग्थ्यो त्यो अनकण्टार ठाउँमा जीवनका लागि कुनै सम्भाव्यता छैन । कुशादेवी जीवनको दुरुहताको अर्को नाम थियो कुनैबेला । भीम न्यौपाने त्यही कालो वादलको वरिपरिको चाँदीको घेरा हुन् जसले मानिसहरुमा जीवनप्रतिको आशा जगाएको थियो । भुगोल सजिलो वा अप्ठ्यारो हुँदैन यो त मानिसको दृढता र इच्छाशक्तिको कुरा मात्रै हो भनेर तिनै भीम न्यौपानेले मानिसहरुलाई दृष्टि दिए । तिनै भीम न्यौपानेका आँखाले देखेका थिए सपना कुशादेवी र त्यहाँका मानिसहरुका लागि । आज तिनै भीम न्यौपाने अरु धेरै सपना बोकेर, मानिसका सेवा गर्दागर्दै आफ्नो रित्तिएको जीवनको खाली हात लिएर फेरि मानिसहरुका बिचमा छन् । ति सँग सफा हृदय छ । ति सँग दशकौंदेखिको अनुभव छ । ति सँग सुनौलो भविष्यको चित्र छ । ति सँग सबै मानिस ओतिन मिल्ने छानो छ । ति सँग सबै मानिसहरुलाई डोर्याउने आशाको बलियो डोरी छ । तिसँग सानालाई असल अभिभावकत्व प्रदान गर्ने छाती छ । ति सँग समकालीनहरुका लागि भरोसायोग्य साथ छ । ति सँग बा आमाको लागि बलियो टेक्ने लौरो छ । समग्रमा ति सँग सबैका लागि सबैथोक छ । भीम न्यौपाने प्रेमको अर्को नाम हो । उनले सबै मानिसलाई प्रेमपुर्ण आँखाले हेर्न मात्रै जानेका छन् । भीम न्यौपाने चेतनाको अर्को नाम हो । तिनका हातहरुले अरुका लागि काम गर्न जानेका छन् । तिनका हातहरुले अँध्यारोमा उज्यालोको दियो बाल्न जानेका छन् । भीम न्यौपानै समयको प्रवाहमा देखिएको उज्यालोको एउटा मुश्लो हो । उनलाई साथ दिनुको अर्थ हो उज्यालो छर्नु । उनलाइ साथ दिनुको अर्थ हो चेतनाको नयाँ बत्ती बाल्नु । उनलाई साथ दिनुको अर्थ आफ्नो र आउँदो पुस्तालाई प्रगतिर समृद्धिको एउटा सपनाको हस्तान्तरण हो ।
किनकी–
प्रेम चेतनाको नाम हो
चेतना एकताको नाम हो
एकता प्रगतिको नाम हो
प्रगति समानताको नाम हो
समानता न्यायको नाम हो
तिमी जुनसुकै नाम चुन
प्रेम, चेतना, एकता, प्रगति, समानता वा न्याय
सबै जीवनको नाम हो ।
तपाईको प्रतिक्रिया